काठमाडौं । कतार सरकारले वैदेशिक रोजगारीमा कतार जानका लागि श्रम स्वीकृति बन्द गरेको छ । नेपालसहित १४ देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि कतार प्रवेशमा रोक लगाएको हो ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि सावधानी स्वरुप कतारले कोरोना जोखिममा रहेका नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहालले जानकारी दिए । उनका अनुसार अवस्था सहज हुनेबित्तिकै पुनः श्रम स्वीकृति दिन सुरु गरिने छ ।
चीनमा हाल कोरोना संक्रमण र मृतक दरमा कमी आएको छ । यद्यपी अन्य देशमा भने दैनिक संक्रमण र मृतकको दर बढ्दो छ ।
विश्वभरको तथ्यांकअनुसार सोमबारसम्म १ लाख ९ हजार २७१ कोरोनाबाट संक्रमित छन् भने ३ हजार ८१६ को ज्यान गइसकेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई समेत कोरोना जोखिमको सूचीमा राखेपछि सरकारले सभा, कार्यक्रमहरु समेत नगर्नू भनेको छ भने विद्यालयको परीक्षा समेत अघि सारिएको छ ।