कोरोना भाइरस संक्रमणबाट बच्न वाग्मती प्रदेशमा हात नमिलाउने अभियान

हेटौंडा।वागमती प्रदेशले कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि हात नमिलाउने निर्णय गरेको छ ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले विश्वब्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणबाट बच्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई समेत कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा रहेको जनाएपछि प्रदेश सरकारले यसका लागि छुट्टै उपचार कक्ष निर्माण गरिसकेको समेत जनाएको छ । नेपालीको परम्परादेखि चलिआएको चलन एवम् हातका कारण कोरोना बढी संक्रमण हुने चिकित्सकको भनाइलाई मध्यनजर गर्दै ‘नो ह्याण्डसेक’को निति अवलम्बन गर्न जनसमुदायमा आब्हान गर्ने निर्णय पनि गरेको हो ।

बिहीबार नै बसेको मन्त्रिपरिषद्को बैठकले नेपालका प्रधानमन्त्री केपीशर्मा ओलीको सीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बुधबार मात्र मिर्गौलाको सफल प्रत्यारोपण भएपछि प्रधानमन्त्री एवम् मिर्गौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य लाभको कामना गर्दै मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकको टोलीलाई प्रदेश सरकारले धन्यबाद ज्ञापन गरेको छ ।

यस्तै प्रदेशका संरचना निर्माणका लागि हेटौंडा सिमेन्ट उद्योगको खाली रहेको जग्गा उपलब्ध गराइ दिन नेपाल सरकारलाई आग्रह गर्ने निर्णयसमेत भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए । यसैगरी प्रदेश सूचनाको हक सम्बन्धी ऐन–२०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्ने स्वीकृत दिने, चालु आर्थिक वर्षको लागि प्रदेश विषेश अनुदान तर्फका थप योजनाहरु स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै साझा यातायात सहकारी संस्था लिमिटेडमा शेयर लगानीको निर्णय समेत खारेज गर्ने निर्णय गरेको छ । यसअघि साझा सहकारी संस्थासँग मिलेर बस सञ्चालन गर्ने भनिए पनि सहमतिअनुसार काम नभएकोले सहमति खारेज गरिएको प्रवक्तामन्त्री ढुंगेलले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको