
अजय गोर्खाली,नवलपरासी । उद्योग वणिज्य संघ, नवलपरासी (बर्दघाट सुस्तापूर्व)को आयोजनामा बुलिङटार गाउँपालिकामा स्वास्थ्य शिविर गरिने भएको छ । नवलपरासीको विकट गाउँ हो बुलिङटार । कालीगण्डकी करिडोर हुँदै बुलिङटार पुग्न गैंडाकोटको कालीगण्डकी चोकबाट गाडीमा लगभग ४–५ घण्टा लाग्ने बताइन्छ । यस्तो ठाउँमा पुगेर उवासंघ, नवलपुरले स्थानीय जनतालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न लागेको बताएको छ ।
भरतपुरस्थित चितवन मेडिकल कलेजको सहयोगमा शिविर सञ्चालन गर्न लागिएको उवासंघले जनायो । उवासंघका पदाधिकारी लगायत चितवन मेडिकल कलेजका म्यानेजरसहित डाक्टरको टोली गत सोमबार त्यहाँ पुगेर अवस्था बुझेर आएका छन् । बुलिङटार गाउँपालिकाको कार्यालयमा स्वास्थ्य शिविर यही फागुनको आगामी २३ र २४ गते हुने बताइएको छ ।
शिविरमा जनरल मेडिसिन, सामान्य शल्यक्रिया, हाडजोर्नी तथा नशा, मुटुरोग, स्त्री तथा प्रसूति, नाक, कान, घाँटी, छालारोग, दन्तरोग, भिडियो एक्सरे, बालरोग, सुगर परीक्षण लगायत इसिजि सेवा प्रदान गरिने उद्योग वाणिज्य संघका अध्यक्ष अमृत भट्टचनले बताए । शिविरमा चितवन मेडिकल कलेजका झण्डै ३० जना डाक्टर–स्वास्थ्यकर्मीहरुले सेवा दिने बताउँदै अमृतले बिरामीजनलाई औषधि पनि निःशुल्क वितरण गरिने जनाए । सिएमसीले डाक्टरको सेवा उपलब्ध गराउने बाहेक औषधि एवम् टोलीको आतेजाते, खानपिन लगायतका अन्य सम्पूर्ण खर्च उवासंघले व्यहोर्ने अमृत बताउँछन् ।
‘त्यहाँका जनता यो ठाउँमा गाडी चढेर आऊ, यहाँ आएर हस्पिटल कुद, अस्पतालमा पनि हरेक कुरा पैसा नतिरी हुँदैन, चाहे त्यो रगत जाँच होस्, चाहे भिडियो एक्सरे होस्’, उनी भन्छन्, ‘शिविर सञ्चालन गर्दा कमसेकम त्यो सुविधा त त्यहाँका जनताले त्यहीँ पाउने भए नि त ¤ त्यो पनि फ्रि मा । केही नभएपनि ८÷१० हजार रुपैयाँ त उहाँहरुको जोगिने भयो नि ¤ मुख्य कुरा घरदैलोमै स्वास्थ्योपचार पाउने भए ।’ यसभन्दा अगाडि पनि त्यहाँ तत्कालीन कोथर गाविसमा उवासंघले शिविर सम्पन्न गरेको बताउँदै अमृतले भने, ‘त्यतिबेला १२ सय जना जतिले सेवा लिएका थिए । अहिले पनि त्यस्तै १०००÷१२०० जनता लाभान्वित हुनेछन् ।’
अहिले उद्योग वाणिज्य संघ, (नवलपरासी बर्दघाट सुस्तापूर्व)ले गत माघमा आयोजना गरेको तेस्रो गैंडाकोट महोत्सवको आम्दानी–खर्चको हिसाबकिताब भइरहेको छ । हिसाबकिताबको काम छिट्टै सकेर अबको १०÷१५ दिनमा आय–व्यय सार्वजनिक गर्ने बताइएको छ । अहिलेसम्मको लेखाजोखा हेर्दा खर्च कटाएर ५० लाख जति बच्छ कि भन्ने उवासंघको अनुमान छ । आम्दानी रकम उद्योग वाणिज्य संघको भवन निर्माणमा खर्च गरिने अध्यक्ष अमृतले बताएका छन् ।