
शिशिर सिंखडा, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १२ जिरौनामा रहेको ‘धर्मधाम’ चितवन आउने आन्तरिक पर्यटकहरुको मुख्य गन्तव्यको रुपमा विकास भएको छ । चितवन घुम्न आउने आन्तरिक पर्यटकहरु सो मन्दिरको दर्शन गर्न, मन्दिर अवलोकन गर्न र त्यहाँको कलात्मक शैली हेर्न पुग्ने गरेका हुन् ।
शिखर गुम्वज शैलीको सो मन्दिर कृष्ण प्रणामीहरुका लागि नेपालकै ठूलो र महत्वपूर्ण मन्दिर रहेको छ । चितवन आउने आन्तरिक पर्यटकहरु मध्ये मन्दिरमा दैनिक ५ सय भन्दा बढी पर्यटकहरु आइपुग्ने गरेको कृष्ण प्रणामी सेवा समिति, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्याम बरालले जानकारी दिनुभयो । चितवन लगायत काडमाडौँ, पोखरा तथा देशैभरीका सबैजसो जिल्लाका पर्यटकहरु यहाँ आइपुग्ने गरेको अध्यक्ष बरालले बताउनुभयो ।
भ्रमणमा आउने विद्यार्थी, आमा समूह, वचत समूह, सहकारी संस्था लगायत विभिन्न संघ संस्थाबाट धेरै पर्यटकहरु आएको उहाँले बताउनुभयो । मन्दिरमा कृष्ण जन्माष्टमी पर्वमा विशेष मेला लाग्ने गर्दछ भने हिन्दुहरुको विभिन्न चाडपर्वमा समेत पुजा गर्ने भक्तजनहरुको घुइँचो लाग्ने समितिका धार्मिक उपाध्यक्ष पण्डित प्रेमानन्द शास्त्रीले जानकारी दिनुभयो । मन्दिरमा मुख्य रुपमा राधाकृष्णको पुजा गरिन्छ भने शिव–पार्वती, गणेश, कुमार, लक्ष्मी लगायतको पनि पुजा अर्चना हुने गर्दछ ।
मन्दिरमा हरेक दिन बिहान पुजा आरती र साझ पुजा आरती तथा भजनकिर्तन समेत हुने पाठपारायण समितिका संयोजक पण्डित केशर प्रसाद खतिवडाले बताउनुभयो । मन्दिरमा पुजाअर्चनाको अतिरिक्त वृद्धाश्रम समेत रहेको छ । सो वृद्धाश्रममा १० जनालाई समितिको तर्फबाट सम्पूर्ण सुविधा सहित राख्ने व्यवस्था मिलाइएको छ साथै मन्दिरमा घुम्न आउने पर्यटक तथा तीर्थालुहरुलाई हरेक दिन १ सय जनासम्मलाई बस्न र खाना खुवाउने व्यवस्था समेत रहेको छ । सोही आश्रममा मन्दिरका मुख्य गाधीपति बालब्रम्हचारी महन्त श्री १०८ राजेन्द्रदास महाराज समेत बस्दै आउनुभएको छ । मन्दिरको आफ्नै अतिथि सदनमा अतिथिहरुलाई राख्ने व्यवस्था मिलाइएको छ भने मन्दिर परिसर भित्रै रहेको भान्सा घरमा खाना खाने प्रवन्ध छ ।
विवाह, ब्रतवन्धको लागि मण्डपको व्यवस्था छ भने विभिन्न गोष्ठी, साधारण सभा गर्नको लागि आफ्नै सभाहल रहेको छ । मन्दिरको आफ्नै पुस्तकालय समेत रहेको समितिका अध्यक्ष बरालले बताउनुभयो । मन्दिर परिसरभित्रै असहाय र विपन्नहरुका लागि निशुल्क कपडा बैंकको स्थापना गरिएको छ । सो बैंकबाट दिनहुँ निशुल्क कपडाहरु वितरण भइरहेको छ । सो बैंकलाई मन्दिरका युवा परिषद् तथा लायन्स क्लव अफ रत्ननगर मिड नेपालले सहयोग गर्दै आएको छ । सो मन्दिर करिव १५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ भने मन्दिरको विभिन्न स्थानमा करिव २८ कठ्ठा जग्गा रहेको छ ।
मन्दिरमा नै गुरुकुल संचालन गरी अध्ययन अध्यापन गराउने उद्देश्य समेत रहेको छ भने पर्यटकीय पार्क बनाउने समेत लक्ष्य रहेको अध्यक्ष बरालले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति चितवनले भ्रमण वर्ष २०२० लाई लक्षित गरी चितवनमा ५० वटा पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गरेको छ । सो सूचीमा धर्मधामलाई विशेष प्राथमिकताका साथ राखिएको छ ।
सो धर्मधाममा ४ तले राधाकृष्णको मुख्य मन्दिरका अतिरिक्त सुसज्जित पानीको फोहोरा, लालवृक्ष र हरावृक्ष तथा आधुनिक शौचालय समेत रहेको छ । कलात्मक सो मन्दिरका भित्ताहरु तथा ढोकामा विभिन्न देवीदेवताको आकर्षक मूर्तिहरु कुँदिएका छन् । मन्दिरमा युवायुवती तथा सबै उमेरका पर्यटकहरु सेल्फी तथा फोटो खिच्न बढी आकर्षिक भएको समेत पाईन्छ । काठमाडौँबाट भरतपुरमा आफन्तको घर आएकी श्रद्धा बोहोराले आकर्षक मन्दिरमा फोटो खिच्न पाउँदा खुसी लागेको बताउनुभयो ।
सो धर्मधाम २०७४ साल फागुन ८ गते राष्ट्रपति विद्यादेवी भण्डारी एक भव्य कार्यक्रमका विच उद्घाटन गर्नुभएको थियो । उक्त मन्दिर निर्माण सम्पन्न गर्न ७ करोड भन्दा बढी रकम खर्च भएको थियो ।