माडीका वडाध्यक्षलाई अनसन तोड्न नौ राजनीतिक दलको आग्रह

भरतपुर । चितवनका राजनीतिक दलहरुले अनसनरत वडाध्यक्ष कृष्णप्रसाद पौडेललाई अनसन तोड्न आग्रह गरेको छ । जिल्लाका नौ राजनीतिक दलहरुले पौडेलका मागहरुप्रति एकबद्धता जनाउँदै अनसन तोड्न माग गरेका हुन् ।
माडी क्षेत्रका विभिन्न समस्याहरु समाधानको माग गर्दै माडी नगरपालिकाको वडा नम्बर १ का वडाध्यक्ष पौडेल विगत फागुन ७ गते देखि अनसनमा छन् । नेकपा, नेपाली कांग्रेस, राप्रपा संयूक्त, समाजबादी पार्टी, राष्ट्रिय जनता पार्टी, साझा पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय नागरिक पार्टीले पौडेलका सम्पूर्ण मागहरुप्रति एकबद्धता जनाउँदै अविलम्व पुरा गर्न माग गरेका छन् । उनको जीवन रक्षाका लागि सरकारसँग माग पनि उनीहरुले गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइको रोहवरमा दलहरुको बैठक बसेको थियो ।
पौडेलको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको चिकित्सकहरुले बताएका छन् । उनी भरतपुर अस्पतालको सघन उपचार कक्षको ९ नम्बर शैयामा उपचाररत छन् । पौडेलको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अनसन तोड्न आग्रह गरिएको नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको