शिशिर सिंखडा, चितवन । गृहमन्त्री राम बहादुर थापाले प्रहरी जनताको साथी हुनुपर्ने बताउनु भएको छ । जनताको समस्या र पीर मर्कामा सहयोगीको भूमिका निर्वाह गर्दै प्रहरीको खस्कदो साखलाई राम्रो बनाउन उहाँले निर्देशन समेत दिनुभयो ।
चितवनको कालिका नगरपालिका वडा नं. ७ जुटपानी स्थित प्रहरी चौकी जुटपानीको नवनिर्मित भवनको आज समुद्घाटन गर्दै गृहमन्त्री थापाले एक पालिका एक इलाका प्रहरी कार्यालयको अवधारणा सरकारले ल्याएको भन्दै छिटै नै सो चौकीलाई इलाका प्रहरी कार्यालय बनाउने समेत उहाँले आश्वासन दिनुभयो ।
पहाडी वस्ती शक्तिखोरमा प्रहरी चौकी स्थापना गर्न आफू सकारात्मक रहेको समेत उहाँले बताउनु भयो । ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माणका लागि सबै एकजुट हुन अनुरोध गर्दै गृहमन्त्री थापाले समृद्धिको लागि सुरक्षित समाजको पनि उत्तिकै जरुरत रहने समेत उहाँले बताउनु भयो । सुरक्षित समाज र समुन्नत राष्ट्रको लागि आफू सधैँ प्रतिवद्ध रहेको समेत मन्त्री थापाको भनाइ थियो । सो कार्यक्रममा चितवन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेल, प्रदेश सांसद घनश्याम दाहाल, चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी नायव उपरीक्षक शंकर सिल्वालले प्रहरी चौकी भवन निर्माण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने प्रदेश प्रहरी कार्यालय हेटौडाका निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किशोर कुमार दाहालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।