चितवन । कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले आफूले सोचे जस्तो काम गर्न नसकेको स्वीकारेका छन् । आफू निर्वाचित भएको साढे २ वर्ष भइसकेको बताउँदै उनले कार्यविधि बनाउदैमा र नियम कानुनहरु तर्जुमा गर्दा गर्दै समय गएको भन्दै उनले अलि अलि कामहरु मात्र गर्न सकेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वडा नं. ६ को कार्यालय उद्घाटनको कार्यक्रमका अतिथि नेकपाका जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका मेयर श्रेष्ठले काम गर्ने सन्दर्भमा सहज र असहज परिस्थितिहरु आउने रहेछ, उनले भने ।
साढे २ वर्ष सिक्दा सिक्दै गएको भन्दै उनले ५ वर्ष नयाँ नयाँ नै भएर सिक्दा सिक्दै समय जाने समेत उनले बताएका थिए ।
घुमाउरो पारामा उनले सञ्चारमाध्यममा आएका समाचारलाई लक्षित गर्दै अतिरञ्जित र खुरापातले केही फरक नपर्ने समेत उनले बताए ।
मेयर श्रेष्ठलाई यस अगाडि खानेपानीको मुहान सुक्ने गरी क्रसर राख्न दिएको आरोप लाग्दै आएको छ । खोला दोहन हुँदा समेत मुकदर्शक बनेका मेयर श्रेष्ठले कानुन विपरीत संचालनमा रहेको मुना सहकारीलाई कारवाही नगरेको र नगरभित्र भएका विभिन्न भ्रष्टाचारजन्य घटनामा चासो नदिएको आरोप लाग्दै आएको छ । नगरको फोहोर व्यवस्थापन गर्न नसकेको समेत उनी माथि आरोप लाग्दै आएको छ ।