चितवन । पूर्वी चितवनको कालिका नगरपालिकाभित्रका विभिन्न विकास निर्माणका योजनाहरुको ठेक्का रकमको १० प्रतिशत कमिसन नदिए भुक्तानी रोक्का हुने वा आलटाल गर्ने समाचार प्रकाशित भएपछि विभिन्न प्रतिक्रियाहरु आएका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले सेटिङ मिलाई रकम माग गर्ने र नदिएका ठेकेदारलाई दुःख दिने नियत राखेको आरोप लागेको छ ।
नगरपालिकाको विभिन्न शाखा मार्फत् सेटिङ मिलाउदै आएका अधिकृत पुरीले नगरपालिकाको लेटरप्याड दुरुपयोग गरी सो कार्यको ढाकछोप र बचाउ गरेका थिए । उनले कालिका दैनिक अनलाइनमा समाचार प्रकाशित भएपछि लेटरप्याड दुरुपयोग गरी नगरपालिका फेसबुकमा खण्डन गरेपनि सो खण्डन धेरै दिन टिक्न सकेन । लेटरप्याडमा लेखेर फेसबुकमा पोष्ट गरिएको सो खण्डन उनले ३ दिनपछि परिमार्जन गरी पुनः लेटरहेड हटाई खण्डन मात्र राखी आफूले हस्ताक्षर गरेका छन् । कालिका दैनिक डट कममा प्रकाशित समाचार प्रति हामी अडिग छौँ । विभिन्न अनियमितता र ढिलासुस्ती प्रति कालिका दैनिक डट कमको सधै खबरदारी रहनेछ । विभिन्न योजनाका सन्दर्भमा ठेकेदारहरुले भनेका सबै प्रमाणहरु हामीसँग सुरक्षित भएको सम्पूर्ण पाठकवर्गमा जानकारी गराउँदछौँ ।
यस अगाडिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज सुवेदीले सार्वजनिक सुनुवाई कार्यक्रम गर्न ५ हजार रुपैया मागेको समाचार प्रकाशित हुँदा समेत कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले अधिकृत सुवेदीको बचाउ गर्दै नगरपालिकाको लेटरप्याड दुरुपयोग गर्न दिएका थिए । कालिका नगरपालिकामा भएका हरेक घटनाको छानविन गरी सत्यतथ्य बाहिर ल्याउनुको साटो नगर प्रमुख श्रेष्ठले कार्यालय प्रमुखको बचाउ गर्नुले नगरवासीहरु मेयरको कार्यशैली प्रति सशंकित हुन थालेका छन् ।
सञ्चारमाध्यममा आएको समाचारको सन्दर्भमा पत्रकार सम्मेलन आयोजना गर्ने भन्दै भौतारिएका अधिकृत पुरीले पत्रकार सम्मेलन गर्ने आँट त गरेनन् नै सम्बन्धित समाचारमाध्यममा खण्डन समेत पठाउने आँट गरेनन् । खोला दोहन हुँदा मौन बस्दै आएका कालिकाका मेयर श्रेष्ठलाई खानेपानी मुहान सुक्ने गरी क्रसर राख्न दिएको आरोप समेत लाग्दै आएको छ । त्यस्तै गैरकानुनी रुपमा मुना सहकारीलाई खोलेसिमल बजारमा शाखा संचालन गर्न दिएको समेत उनी माथि आरोप लाग्दै आएको छ ।
https://www.kalikadainik.com/2020/01/30/9830/
ठेक्काको १० प्रतिशत रकम नदिए भुक्तानी दिदैँनन् कालिकाका प्रशासकीय अधिकृत पुरी, मेयर श्रेष्ठ पनि मौन, किन ?