
शिशिर सिंखडा, चितवन । ट्राफिक नियमको पालना गरेर सवारी साधन चलाएमा दुर्घटनामा न्यूनीकरण हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख (प्रहरी निरीक्षक) दयाकृष्ण भट्टले बताए । अधिकाँश दुर्घटनाहरु ट्राफिक नियम विपरीत सवारी चलाउनाले भएको भन्दै उनले सबै सवारीका धनीहरुलाई हतार गरेर होइन, सुरक्षित भएर सवारी चलाउन अनुरोध गरेका छन् ।
ट्राफिक प्रहरीले जिल्लाभर जथाभावी पार्किङ गरेका सवारीलाई चेनलक लगाई कारवाही अगाडि बढाउन थालेको छ । पछिल्लो १५ दिनमा जथाभावी पार्किङ गरिएका २ सय ५६ वटा सवारी साधनलाई कारवाही गरिएको कार्यालय प्रमुख भट्टले जानकारी दिए । त्यसैगरी सिट क्षमता भन्दा बढी यात्रु बोक्ने ५६ वटा सवारी साधन कारवाहीमा परेका थिए भने ती साधनहरुबाट ४ सय २६ वटा मुढाहरु समेत जफत गरिएको थियो ।
सवारी साधनमा तोकिएका भन्दा बाहेक जडान गरिएका ३ सय २५ वटा लाइटहरु पनि नियन्त्रणमा लिएको भट्टले बताए । सवारी साधनमा लेखिएका उत्तेजनात्मक कोटेसन मेटाउने, अनावश्यक स्टीकर पोस्टरहरु हटाउने, सवारी साधनका झल्लरहरु हटाउने काम पनि थालिएको उनले जानकारी दिए । सवारी चालकले मादक पदार्थ सेवन गरे नगरेको परीक्षणमा कडाई गर्दै हरेक दिन चेकिङ गर्ने गरेको उनले बताए ।
रातीको समयमा बढी दुर्घटना हुने गरेको पाइएकाले रात्रीकालिन गस्ती समेत बढाइएको छ । जिल्लामा हुने हरेक गतिविधि र चेकजाँचमा जिल्ला प्रहरी कार्यालयको सहयोग र समन्वय रहेको ट्राफिक प्रमुख भट्टले जानकारी दिए । जिल्लामा ट्राफिक नियमको सबैले पालना गर्न र गराउन अनुरोध गर्दै उनले दुर्घटनामुक्त चितवन बनाउन सबैको साथ र सहयोगको उनले अपेक्षा समेत गर्दै सहयोग गर्न अनुरोध समेत गरेका छन् ।