सौराहा, चितवन, २८ माघ । चितवनको पर्यटकीय नगरी सौराहामा मंगलवार देखि १४ औं सौराहा फुड फेष्टिवल सुरु भएको छ । रेष्टुरेष्ट एण्ड बार एशोसियशन(रेवान) सौराहाले आयोजना गरेको फेष्टिवलको उद्घाटन गर्दै बागमती प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री अरुण नेपालले पर्यटनका माध्यमबाट समृद्धि हासिल गर्न सकिने बताउनु भएको छ ।
पर्यटन आर्थिक विकासको मेरुदण्ड रहेको भन्दै मन्त्री नेपालले पर्यटनको विकासले मात्र मुलुकले समृद्धि प्राप्त गर्ने बताउनु भयो । उहाँले बागमती प्रदेशले पर्यटन विकासलाई प्राथमिकता दिएको बताउनु भयो । कार्यक्रममा प्रदेश सभा सांसद कृष्णप्रसाद खनालले भ्रमण बर्ष घोषणामा मात्र सिमित हुन नहुने बताउनु भयो । रत्ननगरका मेयर नारायण वनले भ्रमण बर्षलाई सफल बनाउन केन्द्र र प्रदेश सरकारले ठोस कदम चाल्न नसकेको भन्दै प्रर्बधनात्मक कर्मक्रम ल्याउन आग्रह गर्नु भयो । कार्यक्रममा केन्द्रीय रेवानका अध्यक्ष अरनिकोराज भण्डारी,रेवान सौराहाका पूर्व अध्यक्ष तथा वडा अध्यक्ष राजन भट्ट,रेवान महिला समुहकी अध्यक्ष माला दाहाल,क्षेत्रीय होटल संघका सौराहाका अध्यक्ष दीपक भट्टराई,थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललीतकुमार चौधरी लगायतले मन्तव्य राख्नु भएको थियो ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटी,रत्ननगरकी उपमेयर विमला दुवाडी,नेकपाका नगर अध्यक्ष कुलप्रसाद भूषाल,नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरे,वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले खाना र संस्कृतिको माध्यमबाट पर्यटन प्रर्बधन गर्ने उद्देश्यले फेष्टिवल आयोजना गरिएको बताउनु भयो ।
फेष्टिवल उद्घाटन हुनुपूर्व ९० वटा संघसंस्था तथा समुहहरु सहभागी शोभायात्रा निकालिएको थियो । शोभायात्रामा उत्कृष्ट प्रर्दशन गर्ने समुहलाई उद्घाटन कार्यक्रममा पुरस्कृत समेत गरिएको छ । पर्यटन प्रर्वधन गर्ने उद्देश्यले प्रेम दिवसको अबसर पारेर आयोजित सो फेष्टिवलमा स्वदेशी तथा विदेशी र परम्परागत खानाका ४० वटा स्टल रहेको संयोजक ध्रुव गिरीले जानकारी दिए । फेष्टिवलमा स्थानीय जातजाती तथा विदेशी खानाको परिकार संगै स्थानीय कला,संस्कृति,भेषभुषाको प्रर्दशन गरिने फुड फेष्टिवलका संयोजक गिरीले बताए । फेष्टिव अन्तर्गत सौराहाको हात्तीचोक देखि ड्याक सम्म सडकमै खाने र सडमकै रमाउने व्यवस्था मिलाईको छ । फेष्टिवल अन्तर्गत मेयरकप भलिवल प्रतियोगिता, प्रेम पत्र लेखन प्रतियोगिता,वेटर रेस,महिलाहरुको म्युजिकल चेयर,वालवालिकाको बेलुन फुटाइ,डारी तान्ने,अन्तर विद्यालय नृत्य प्रतियोगिता तथा सडक नाटक लगायतका कार्यक्रम हुनेछन ।
प्रेम दिवसको दिन फेष्टिवल प्रवेशका लागि काटिने टिकटबाट संकलन भएको पैसा मध्य ७५ प्रतिशत रकम गौतमबुद्ध क्रिकेट रंगशालालाई दिइने छ । भण्डै साढे दुई करोडको कारोवार हुने अनुमान गरिएको छ । फेष्टिवलको सांस्कृतिक कार्यक्रम अन्तर्गत पशुपती शर्मा, प्रकाश सपूत, सम्झना भण्डारी, दुर्गेश थापा, शान्ती श्री परियार, अलमोडा राना उप्रेती, सम्झना लामिछाने मगर, कमल खत्री, कृष्ण अखेली, दुर्गा सापकोटा, रमेशराज भट्टराई, डिला बिक, रविन लामिछाने, राजन कार्की, अपेक्षा गिरी, जीवन दाहाल, चोलिन्द्र पौडेल, शितल शर्मा, अर्जुन सापकोटा, मनोज महतो, अनु चौधरी, डिबि लोप्चन, द न्याटिभ ब्याण्ड, बलराम सरकार लगायतका कलाकारको प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक नविन नेपालले जानकारी दिनु भयो ।