

चितवन । पूर्वी चितवनको कालिका नगरपालिका भित्र हुने विभिन्न विकास निर्माणका योजनामा ठेक्का रकमको १० प्रतिशत रकम नदिएसम्म ठेक्काको रकम नगरपालिकाबाट भुक्तानी नदिने गरेको पाइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले १० प्रतिशत रकम नपाएको ठेक्काको भुक्तानी दिन आलटाल गर्ने, भोली पर्सी आउनु भन्दै टार्ने गरेका छन् ।
साथै उनले यो या त्यो कागज नपुगेको भन्दै फर्काउने गरेको समेत पाइएको छ । प्राविधिक शाखा र प्रमुख प्रशासकीय अधिकृतको सल्लाह बमोजिम सेटिङमा काम हुने र च्यानल मार्फत् पैसा पाएको थाहा पाएपछि मात्र उनले फाइल सदर गरी अगाडि बढाउने गरेको एक ठेकेदारले कालिका दैनिकलाई बताए । जो जो ठेकेदारले सेटिङ मिलाई रकम उपलब्ध गराए उनीहरुको भुक्तानी सोही समयमा भएपनि रकम नदिएकाहरुको भने उनले भुक्तानीमा आलटाल गरेको पाइएको थियो। ठेकेदारबाट लिइएको रकम प्रमुख प्रशासकीय अधिकृत, प्राविधिक शाखा, लेखा शाखा र योजनासँग जोडिएका कर्मचारीहरुले बाड्नुपर्ने भन्दै प्राबिधिक शाखा मार्फत माग्ने गरिएको ठेकेदारहरुले बताए । हाम्रो नाम नबताउनु है, उनिहरुले भने ।
नगरका केही वडामा पनि विकास निर्माणको काम गर्दा वडामा समेत रकम दिनुपर्ने उनीहरुको गुनासो छ । यस्तो गतिविधिको किन बिरोध नगरेको भन्ने कालिका दैनिकको प्रश्नमा ठेकेदारहरुले “हजुर निर्माणको काम भएन भनेर झन हामीलाई डुबाउथे, हामी सबै भन्न कहाँ सक्छौं र ?” सेटिङमा आर्थिक चलखेल गरेको र समयमै भुक्तानी नदिएको तथा भुक्तानी दिइएको विकास निर्माणको पनि रकम लिएको सन्दर्भमा कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले आफू कुनैपनि गतिविधिमा, आर्थिक लेनदेन हुने गरी नजोडिएको टेलिफोनमा कालिका दैनिकलाई बताएका छन् । कुनै शाखाबाट त्यस्तो काम भएको भए आफूलाई जानकारी गराउन भन्दै उनले आर्थिक लेनदेनका बारेमा आफूलाई जानकारी नभएको बताए । प्राविधिक शाखाबाट केही गुनासाहरु भए आफूलाई थाहा नभएको उनको भनाइ थियो । साथै उनले कोहि कर्मचारीको बारेमा गुनासो भए जानकारी दिनुहोला, म कार्बाही गर्छु, उनले भने ।
मेयर श्रेष्ठ पनि मौन, किन ?
विकास निर्माण र ठेक्का सम्बन्धी हरेक गतिविधिको जानकार नगर प्रमुख हुने भएपनि कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ भने सधैँ मौन बस्ने गरेका छन् । उनीसम्म पुगेका गुनासो पनि कागजपत्र पु¥याएर आउन भन्दै उनले पन्छाउने गर्दछन, एक ठेकेदारले भने । जनप्रतिनिधिको यस्तो व्यवहारले कर्मचारीसँग नै जनप्रतिनिधिको मिलेमतो त छैन, प्रश्न गर्ने बेला आएको छ । नगरपालिकाका यस अगाडिका प्रमुख प्रशासकीय अधिकृत रामराज सुवेदीले घुस मागेको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपनि नगर प्रमुख श्रेष्ठले स्पष्टिकरण सोध्नुको साटो नगरपालिकाको लेटरप्याड दुरुपयोग गराई कर्मचारीहरुको संयुक्त विज्ञप्ती निकाल्न लगाई सुवेदीको घुस प्रकरण ढाकछोप समेत गरेका थिए ।
ताजा समाचार
धेरैले पढेको
© 2025 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer