
काठमाडौँ । नोवल कोरोना भाइरस संक्रमणको शंकामा चीनबाट नेपाल फर्किएका दुईजनालाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । उनीहरु दुवैको अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।
बिरामीमध्ये एक ४८ वर्षीया महिला र २८ वर्षीय पुरुष छन् । महिला माघ १० गते अस्पताल भर्ना भएका हुन् भने पुरुषलाई ११ गते अस्पताल भर्ना गरिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि उनीहरुलाई टेकु अस्पताल लगिएको थियो।
अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीका अनुसार महिला चिनको संघाईमा तालिम लिएर फर्किएकी हुन्। अस्पतालले ती बिरामीलाई आइसोलेसन वार्डमा राखेर उपचार र निगरानी गरिरहेको छ।
बिरामी कोरोना भाइरस संक्रमित हुन् या होइनन् भन्ने चाहीँ पुष्टि भएको छैन। स्वास्थ्यकर्मीले भने, ‘महिला बिरामीको अवस्था गम्भीर छ। अवस्था हेर्दा सबै कोरोना भाइरसकै लक्षण देखिएको छ।’ सुरक्षाको उचित व्यवस्था नहुँदा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी नै बिरामीको नजिक जान डराइरहेको अस्पताल स्रोतले बताएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार ती बिरामी चीनबाट घुमेर आएका हुन्। रुघाखोकी र ज्वरो देखिएपछि उनीहरूलाई निगरानीमा राखिएको उनले बताए। ‘ती बिरामीको र्याल र रगतको नमुना परीक्षणका लागि पठाइसकिएको छ,’ उनले भने, ‘उनीहरूको परीक्षण नेपालमै हुन्छ। हङकङ पठाउँदा रिर्पोट आउन धेरै दिन लागेपछि नेपालमै व्यवस्था गरेका हौं।’