सिग्नेचर ब्रिजका लागि १० स्थान छनोट, पहिलो चितवनको नारायणी नदि, कस्तो हुन्छ यस्तो पुल

काठमाडौं ।  सिग्नेचर ब्रिज निर्माण गर्दा उपयुक्त हुने १० स्थान पहिचान गरिएको छ। सडक विभाग मातहतको पुल महाशाखाको टोलीले उपयुक्त स्थानको पहिचान गरेको हो।

महाशाखाले नारायणी नदि (चितवन), विजयपुर खोला (कास्की), रतुवा खोला (दमक), गछियाखोला (मोरङ), तमोर नदि (धरान-धनकुटा सडक), बागमती खोला (शंखमुल, काठमाडौं), तिनाउ नदि (बुटवल), रोहिणी नदि (भैरहवा), बकैया (मकवानपुर) र बागमती खोला (सर्लाही-रौतहट) लगायतका स्थान पहिचान गरेको हो।

‘पुल निर्माण हुने स्थान पहिचान गर्नु पनि महत्वपूर्ण कुरा हो। अब डिजाइनको काम सुरू हुन्छ,’ पुल महाशाखा प्रमुख दीपक भट्टराईले भने, ‘चिनियाँ, इण्डियन र स्वीसका विज्ञ झिकाएर डिजाइन गर्दैछौ।’ चालु आर्थिक वर्षभित्र चारवटा पुलको डिजाइन तयार पार्ने महाशाखाको योजना रहेको उनले बताए।

चितवनको नारायणी नदिलाई पहिलो प्राथमिकतामा राखिएको छ। अरू तीन स्थानको समेत डिजाइन हुनेछ। योजना अनुसार काम भए आगामी वर्ष चितवनको नारायणी नदिमाथि नेपालकै पहिलो सिग्नेचर ब्रिज तयार हुनेछ। जसको लम्बाइ करिब पाँच सय मिटर हुनेछ। डेडिकेटेड डबल लेनमा निर्माण हुने पुलका लागि झण्डै एक अर्ब लाग्ने अनुमान छ।

१० वटै पुलको डिजाइन नेपाल सरकारले आफ्नै लगानीमा गर्दैछ। डिजाइन तयार भएपछि नेपालको आफ्नै आन्तरिक स्रोत वा दातृ निकायको ऋण सहयोगमा समेत निर्माण गर्न सकिने भट्टराइले बताए। अहिले महाशाखाले विश्व बैकसँग छलफल समेत गरिरहेको छ। आगामी वर्ष बाकी ६ स्थानको अध्ययन गरेर दोस्रो फेजमा निर्माण अघि बढाउने योजना रहेको भट्टराइले जानकारी दिए।

कस्तो हुन्छ सिग्नेचर ब्रिज ?
महाशाखाका अनुसार यो सामान्य पुलभन्दा फरक खालको हुन्छ। नयाँ प्रविधि प्रयोग गरेर निर्माण गरिने यो पुल कलात्मक हिसाबले निर्माण गरिने महाशाखा प्रमुख भट्टराइले बताए। ‘जसरी मानिसलाई उसको सिग्नेचरले चिनिन्छ। त्यसैगरि सिग्नेचर पुलले पनि ती स्थानलाई चिनाउनेछ,’ उनले भने।

युरोपका धेरै सहरहरूमा यस्ता प्रकृतिका पुलहरू निर्माण भएका छन्। आकर्षक हुने भएकाले यसले पर्यटकीय महत्व समेत राख्दछ। झट्ट हेर्दा ‘नेटवर्क आर्क ब्रिज’ जस्तै डिजाइनमा बनेको देखिने भएपनि यी फरक खालका हुन्छन्। पुललाई आकर्षक देखाउन प्रयोग गरिएका डण्डीहरुमा समेत कलात्मक डिजाइन दिइने छ।

पुलमा आकर्षक लाइटहरू समेत जडान गरिन्छ। जसले रातमा समेत आकर्षक देखिन्छ भने सामान्य पुलमा राखिने भन्दा दोब्बर फराकिलो फुटपाथ हुन्छ। जसमा मानिसहरू बस्नका लागि स्थान समेत निर्माण गरिन्छ । बिहान-बेलुकी फ्रेस हुनका घुमघाममा जान रुचाउनेका लागि ती पुलमा जान सकिन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको