काठमाडौँ । एक नेपालीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत चीनबाट फर्किएका एक नेपालीमा कोरोना भाइरस फेला परेको जानकारी गराएको हो । संक्रमित व्यक्तिको नाम भने खुलाइएको छैन ।
पहिलो पटक चीनको वुहान प्रान्तमा फेला परेको कोरोना भाइरसबाट २६ जनाको मृत्यु भइसकेको छ । यसबाट वुहान प्रान्तमा करिब एकहजार संक्रमित रहेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
चीनसँगै कोरोना भाइरस यो भाइरस दक्षिण कोरिया, थाइल्याण्ड, जापान, अमेरिका र ताइवानमा पनि फैलिसकेको छ ।
त्यहाँ वुहान प्रान्तमा आवातजावतमा पनि प्रतिबन्ध लगाइएको छ । त्यस्तै चीन सरकारले चिनीयाँ नयाँ वर्षमा धेरै ठूला कार्यक्रम सञ्चालन नगर्नसमेत आग्रह गरेको छ । चीनले कोरोना भाइरस संक्रमितको उपचारका लागि छुट्टै अस्पताल बनाइरहेको छ ।
नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट आएका नागरिकको स्वास्थ्य परीक्षण गर्ने हेल्प डेस्क राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।