
काठमाडौं । उपत्यकका तीन जिल्लाबाहेक बागमती प्रदेशभर शुक्रबार सार्वजनिक बिदा हुने भएको छ।उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाबाहेक अन्य जिल्लामा शुक्रबार सार्वजनिक बिदा हुनेको हो।
बागमती प्रदेश सरकारले तामाङ समुदायको सोनाम ल्होसारको अबसरमा प्रदेशमा बिदा दिने निर्णय गरेको हो। प्रदेश सरकारले दिएको बिदा उपत्यकाभित्रका तीन जिल्लाबाहेक अन्यमा लागू हुनेछ। गृहमन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले काठमाडौं, भक्तपुर र ललितपुरबाहेक बागमती प्रदेशका अरू जिल्लामा प्रदेश सरकारले दिएको बिदा लागू हुने बताए।
गत वर्ष चैतमा बसेको केन्द्र सरकारको मन्त्रिपरिषद बैठकले उपत्यकाबाहेक अन्य जिल्लाको हकमा प्रदेश सरकारले दिएको बिदा लागू हुने निर्णय गरेको थियो। प्रदेशले बिदा दिँदा केन्द्र सरकारमातहत दरबन्दी भएका कार्यालय खुलेपछि मन्त्रिपरिषदले यस्तो निर्णय गर्नुपरेको थियो। उपत्यकाभित्रका तीन जिल्लामा भने केन्द्र सरकारले बिदा दिएका बेला मात्रै बिदा हुनेछ।