![अन्नपूर्ण पदमार्गमा तीन नेपाली सहित ११ जना शुक्रबारदेखि बेपत्ता](https://www.kalikadainik.com/wp-content/uploads/2020/01/annapurna.jpg)
काठमाडौं । अन्नपूर्ण पदयात्राका लागि गएका आठ विदेशी पर्यटक सहित तीन नेपाली अहिलेसम्म बेपत्ता रहेका छन् ।
बेपत्ता हुने विदेशी पर्यटकमा दक्षिण कोरियाका जोङपिल डोङ, ली मिन सु, टोयो हायो वन र किम सुक जा तथा शेर्पा छिसिङ लामा, भरिया मीनबहादुर लामा र सरोज नेपाली छन् । यस्तै, मनाङमा चारजना चिनियाँ नागरिक सम्पर्कविहीन छन् ।
शुक्रबार अन्नपूर्ण आधार शिविर जान हिँडेका उनीहरू तीन हजार एक सय मिटरको देउरालीसम्म पुगेका थिए । माथिको मौसम खराब रहेको थाहा पाएपछि त्यहीँबाट फकर्ने क्रममा उनीहरू सम्पर्कविहीन भएका हुन् ।
पदमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित देउरालीबाट दुई हजार पाँच सय पाँच मिटरको दोभान र दुई हजार नौ सय २० मिटरको हिमालयनको बीचमा पर्ने हिंकु भन्ने स्थानबाट उनीहरू सम्पर्कविहीन भएको बताइएको छ ।
शनिबार बेपत्ताको खोजीका लागि हेलिकप्टरसमेत प्रयोग गरी खोजी गरिए पनि पत्ता लाग्न नसकेको बताइएको छ । पदयात्रामा गएर अलपत्र परेका एक सय ४१ जनाको भने उद्वार गरिएको छ ।