
रत्ननगर । रत्ननगरको सौराहाचोकमा चिकेन एण्ड एग फेस्टिवल मंगलवार सुरु भएको छ । रत्ननगर महोत्सव अन्तर्गत रत्ननगर उद्योग वाणिज्य संघले महोत्सवको अवसर पारेर सौराहाचोक स्थित वसपार्कमा फेस्टिवलको आयोजना गरेको हो ।
फेस्टिवल एक कार्यक्रमका बीच वागमती प्रदेशका भमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गरे । सो अवसरमा मन्त्री लामाले पोल्ट्रीका क्षेत्रमा विभिन्न समस्या रहेको भन्दै सरकारले निजी क्षेत्रसंग मिलेर समस्या समाधान गर्ने बताए । पोल्ट्रीको प्रवद्र्धन र वजारीकरणका लागि पनि निजी क्षेत्रसंग प्रदेश सरकार हातेमालो गर्नेमा विश्वस्त हुन आग्रह गरे ।
फेस्टिवल उद्घाटन कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवंम् महोत्सवका संयोजक राजाराम रेग्मीले देशको खुल्ला सिमानाका कारण गैरकानुनी रुपमा चल्ला,कुखुरा,मासु,अण्डा,दाना भित्रदा गुणस्तरीय उत्पादनमा चुनौती थपिएको भन्दै यसको नियन्त्रणका लागि सरकारले कदम चाल्नु पर्ने बताए ।
फेस्टिवलमा कुखुराका र अण्डाका परिकार पाईने स्टलसहित विभिन्न जातजातिका खानेकुरा समेत उपलव्ध हुने फेस्टिवलका संयोजक एवंम् रत्ननगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ज्ञानवहादुर विसुरालले वताए । उनका अनुसार फेस्टिवलमा रहेका स्टलहरुमा उपभोक्ताको चाहाना अनुसारका कुखुराका मासुका परिकार र अण्डाका परिकार पाईनेछ ।
५० वटा स्टल रहेको फेस्टिवल माघ ४ गते सम्म चल्ने रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनालले जानकारी दिए । उद्घाटन कार्यक्रममा प्रदेश सांसदहरु घनश्याम दाहाल,कन्चन खनाल,जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटी,रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी लगायतका उपस्थिति रहेको थियो ।