रत्ननगर महोत्सव : चार दिनमा ६० हजारले गरे अबलोकन

रत्ननगर । रत्ननगर महोत्सवको चौथो दिन सम्म आइपुग्दा ६० हजारले महोत्सवको अबलोकन गरेको आयोजकले जनाएको छ । उद्घाटनकै दिनदेखि दर्शकको चाप पढदै गएको सो महोत्सवको सोमवार सम्म ६० हजार बढिले अबलोकन गरेको आयोजक संस्था रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले बताए ।

आगामी माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा आइतबार दर्शकको सहभागिता उत्साहजनक रुपमा भएको संघका बरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए । महोत्सव अवलोकनका लागि पुगेका दर्शकहरु विशेष गरि सांस्कृतिक कार्यक्रम तथा कृषि परिसर अवलोनकन गर्ने गरेको उनको भनाई छ । महोत्सव स्थलमा माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउ विजनको प्रदर्शनीका साथै माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर राखिएको छ । त्यसैगरी किसानलाई व्यवसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले १० औँ रत्ननगर महोत्सवमा छुट्टै कृषि परिसर राखिएको छ । कृषि प्रवद्र्धन समिति संयोजक ईश्वरी प्रसाद अर्यालकाअनुसार महोत्सवभित्र कृषिका लागि छुट्टै परिसर निर्माणगरि त्यहाँ केरा खेतीमा थोपा सिँचाई प्रविधि, बायो फ्लक प्रविधिबाट माछापालन, कौशी खेती तरकारी प्रविधि, च्याउ खेती प्रविधि, नेट हाउस भित्रको तरकारी खेती प्रविधि राखिएको छ ।

त्यस्तै ड्रागन फ्रुटको डेमोस्टेसन, माछा पोखरीलगायतका कृषिसँग सम्बन्धित विषयवस्तुहरु कृषि परिसरमा राखिएको अर्यालले बताए । त्यहाँ राखिएको प्रविधिको बारेमा जान्न खोज्ने कृषकहरुलाई परामर्शको व्यवस्था समेत गरिएको अर्यालको भनाइ छ । त्यस्तै, महोत्सवअन्तर्गत केरा बगैँचा प्रतियोगिता समेत हुँदैछ । पुस २५ गतेसम्म केरा किसानबाट निवेदन आह्वान गरिसकिएकाले उनीहरुबाट उत्कृष्ट केरा बगान छनौट गरिने अर्यालले जानकारी दिए । प्रतियोगिताका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइका प्रमुख मेघनाथ तिमिल्सीनाको संयोकत्वमा रत्ननगर नगरपालिका कृषि शाखाका प्रविण लामा र कृषि ज्ञान केन्द्र चितवनका उमानाथ अर्याल मूल्याङ्कन समितिमा रहेको अर्यालले बताए । तीन सदस्यीय मूल्याङ्कन समितिको सिफारिस अनुसार कृषकलाई सम्मान गरिने उनले जानकारी दिए । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै आयात प्रतिस्थापन गर्नका लागि महोत्सवमा कृषि परिसर राखेर नयाँ प्रविधिबारे किसानलाई जानकारी गराइएको महोत्सव मूल संयोजक एवम् रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले बताए ।
महोत्सवमा मनोज गजुरेलको प्रहसन
पुस २५ गतेदेखि रत्ननगर नगरपालिकाको टिकौली चौरमा सञ्चालन भइरहेको १०औँ रत्ननगर महोत्सवमा आइतबार विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएका छन् । महोत्सवमा हास्य कलाकार मनोज गजुरेलले प्रहसन मार्फत दर्शकहरुलाई भरतपुर मनोरञ्जन प्रदान गरे ।

उनले विभिन्न व्यक्तिहरुको नक्कल गर्दै दर्शकलाई मनोरञ्जन दिएका थिए । त्यस्तै महोत्सवमा जादुगर बलराम सरकारले समेत आफ्नो जादु देखाएर दर्शकलाई मोहित पारेका थिए । महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत आइतबार राष्ट्रिय कलाकार भुवन प्यासी, सुनीता अधिकारीलगायतको प्रस्तुति रहेको थियो । महोत्सवमा आइतबार नै स्थानीय कलाकारहरु अजय लामा, सुमन सिलवाल, नारायणी सिङ्गीङ आइडल विजेता लक्ष्मण चापागाई, रत्ननगर कला केन्द्रको प्रस्तुति रहेको सांस्कृतिक कार्यक्रम सहसंयोजक राजेन्द्र हमालले जानकारी दिए । महोत्सवमा सोमबार राष्ट्रिय लोक दोहोरी गायक कुलेन्द्र विक सहितका कलाकारहरुको प्रस्तुति रहने हमालको भनाइ छ । त्यस्तै अन्डर ग्राउण्ड डान्स एकेडेमीसहित स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने हमालले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको