चितवन । रत्ननगरका सुभास रेग्मीका लागि यस पटकको अंग्रेजी नयाँ वर्ष सम्झनामा रहिरहने घटना बनेको छ । ‘विगतकाअंग्रेजी नयाँ वर्ष कसरी आएर कसरी जान्थ्यो थाहा थिएन । यस पटकको अविस्मरणीय बन्यो,’ उनी भन्छन्, ‘नेपाली नयाँ वर्षको दिन पनि यस्तै होस् भन्ने कामना गरेको छु ।’
उनी यति खुसी हुनुको कारण रहेछ– भरतपुरमा खुलेको सिजी ल्यान्डमार्कमा नयाँ वर्षको अघिल्लो दिन आयोजित सांगीतिक कार्यक्रम । त्यस दिन सिजी ल्यान्डमार्कले चर्चित गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटालाई बोलाएर भव्य सांगीतिक कार्यक्रम गरेको थियो । न्यू इयर इभमा स्थानीय सांगीतिक समूह ट्र्यांगल ब्रान्डले पनि उक्त मलमा प्रस्तुति दिएको थियो ।
कार्यक्रमले रेग्मी जस्ता नयाँ पुस्ताका हजारौंको मन जितेको रहेछ । ‘ठूलठूला सपिङ मलहरु त धनीमानीका लागि खुलेका नाफा मूलक ठाउँजस्तो लाग्थ्यो तर होइन रहेछ । जो पनि जान सक्ने, जो पनि रमाउन सक्ने वातावरण पाएँ,’ रेग्मीले अनुभव सुनाए, ‘म मात्रै होइन मेरा सबै साथीले त्यस दिन फरक किसिमको रमाइलो अनुभव गरे ।’
त्यसो त ठूलठूला व्यापारिक कम्प्लेक्सले विभिन्न पर्व वा विशेष दिनमा सांगीतिक वा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने ग्राहक तान्न कै लागि हो । तर, त्यसको मुख्य आशय मल संस्कृतिबारे सर्वसाधारणमा चेतना जगाउनु हो भन्छन्, सम्बद्ध व्यवसायी ।
‘ठूलठूला भवन, त्यहाँ उपलब्ध अत्याधुनिक सुविधा देख्दा सर्वसाधारणलाई यो हाम्रा लागि होइन भन्ने भ्रम पर्न सक्छ,’सिजी ल्यान्डमार्कमा सात वटा पसल सञ्चालन गरिरहेका युवा व्यवसायी विदुर पौडेल भन्छन्, ‘तर यथार्थ त्यस्तो हुँदैन । बरु अन्यत्र मन लाग्दी मूल्य राखेर बार्गेनिङ गर्ने वा नक्कली सामानलाई सक्कलीको मूल्यमा बेच्ने जस्तो गलत व्यापारिक अभ्यास हुन्छ । ठूला मलमा हुँदैन ।’
पिटर इंग्ल्यान्ड, स्केचर्स, डुल्ला, डेनोभो जस्ता विश्वविख्यात ब्रान्डको आउटलेट सञ्चालन गरिरहेका पौडेलको अनुभवमा चितवनका सर्वसाधारण विस्तारै मल कल्चरमा भिज्दैछन् । सुरु सुरुमा मलमा आउन आनाकानी गर्ने ग्राहकले अचेल बाहिर सामान किन्नै छाडेको उनको अनुभव छ । ‘चौबिसकोठीका एकजना ग्राहकले त सुनेको व्यापारिक मल र भोगेको मल बीच आकाश जमिनको फरक रहेछ भनेर मसँगै भन्नुभयो,’ पौडेलले सुनाए ।
३५ वर्षदेखि तयारी पोसाकको व्यापार गर्दै आएका अर्का व्यापारी हरि भुजेल उक्त मलमा रहेको आफ्नो पसलको कारोबारबाट उत्साहित छन् । ‘सुरुमा त नयाँ ठाउँ के हो के जस्तो लागेको थियो । अहिले उत्साहजनक वातावरण छ । बाहिरका व्यापारीले सर्वसाधारणलाई मलका विषयमा नकारात्मक कुरा सुनाउने प्रयास पनि नगर्ने होइनन्, तर जब उपभोक्ताले सत्य थाहा पाउँछन् अनि उनीहरु अन्त जानै गाह्रो मान्छन् ।’
ताजा समाचार
धेरैले पढेको
© 2025 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer