
दोलखा। दोलखाको रोलवालिङ क्षेत्रमा हिउँ चितुवा र रेडपाण्डा सहित सात संरक्षित बन्यजन्तु रहेको तथ्य आधिकारीक रुपमा पुष्टि भएको छ । गौरीशङ्कर संरक्षण क्षेत्रले दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर ९ रोल्वालिङ उपत्यकामा गरेको क्यामेरा ट्रयापिङ कार्यक्रमबाट उक्त तथ्य पुष्टि भएको हो ।
यस अघि दोलखाकै विगु गाँउपालिका वडा नम्बर १ को लप्ची क्षेत्रमा गरेको क्यामेरा ट्रयापिङबाट हिउँ चितुवा रहेको पुष्टि गरिएको भएपनि त्यतिबेला क्यामेराले हिउँ चितुवाको तस्विर राम्रोसंग लिन नसकेको तर यो पटक हिउँ चितुवा, रेड पाण्डा लगायतका अति दुर्लभ तथा संरक्षित बन्यजन्तुको तस्विर स्पष्ट रुपमा देखिएको गौरीशङ्कर संरक्षण क्षेत्र प्रमुख सत्यनारायण शाहले बताउनु भयो । लप्ची क्षेत्रमा गरिएको क्यामेरा ट्रयापिङमा हिउँ चितुवाको अलवा चरि बाघ र सुनौलो विरालो समेत फेला परेको थियो ।
गौरीशङ्कर संरक्षण क्षेत्रले २०७६ असार १५ गतेदेखि भाद्र २२ गतेसम्म रोल्वालिङ उपत्यका क्षेत्रको ३७४२ मीटर देखि ५०९१ मीटर सम्मको उचाँईमा गरेको क्यामेरा ट्रापिङबाट वयस्क हिउँ चितुवा, ब्वाँसो, कस्तुरी, मृग, रेडपाण्डा र डाँफे फेला परेको अध्यनमा संलग्न संरक्षण अधिकृत बिष्णु पाण्डेले बताउनु भयो ।
त्यसैगरी उक्त क्षेत्रमा प्रत्यक्ष अवलोकनबाट मुनाल र आसामी रातो बादर समेत भेटिएको पाण्डेले बताउनु भयो । यसरी दोलखाको रोल्वालिङ क्षेत्रमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को अनुसूचि १ मा रहेको २७ प्रजातिमध्य सात प्रजातिको संरक्षित बन्यजन्तु रहेको तथ्य पुष्टि भएको संरक्षण अधिकृत पाण्डेले बताउनु भयो ।
गौरीशङ्कर संरक्षण क्षेत्रले दोलखाको रोल्वालिङ उपत्यकाको बिभिन्न १२ स्थानमा बुसनेल ट्रोफि क्याम नामको इन्फ्रारेड क्यामेरा राखेको थियो ।
अनुसन्धानमा संलग्न संरक्षण अधिकृत पाण्डेका अनुसार क्यामेरा ट्रयापिङबाट पहिलो पटक ब्वाँसो र रेडपाण्डाको तस्विर लिन सकिएको हो । रोल्वालिङ उपत्यकामा रातो फ्याउरो, झारल, घोरल, थार, मलसाप्रो, पितोदर मलसाप्रो लगायत १५ प्रजातिका स्तनधारी जनावर, डाँफे, मुनाल, चिलिमे, हिउँ कुखुरा, हाडफोर लगायत १२ प्रजातिका चराहरु समेत क्यामेरामा कैद भएको पाण्डेको भनाई छ ।
क्यामेरा ट्रयापिङमा च्छो रोल्पा हिमताल क्षेत्रमा तीन पटक हिउँ चितुवाको तस्विर खिचिएको थियो । त्यसैगरी च्छो रोल्पा, दुधकुण्ड र येलुङ क्षेत्रमा पटक पटक ब्वाँसोको तस्विर खिचिएको थियो । त्यसैगरी नागाँउ क्षेत्रमा कस्तरी र मृग, बेदिङ गो टाकुरा क्षेत्रमा रेडपाण्डा, गौरीशङ्कर बेस क्याम्प र बेदिङ गो टाकुरा क्षेत्रमा डाँफेको तस्विर खिचिएको संरक्षण क्षेत्रले जनाएको छ ।
दोलखाको उच्च हिमाली क्षेत्रमा धार्मिक एवं सांस्कृति रुपमा समेत बन्यजन्तु तथा जडिबुटीहरुको संरक्षण हुदै आएकोले पनि अति दुर्लभ तथा दुर्लभ संरक्षित प्रजातिका बन्यजन्तुहरु पाईएको गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण शाहले बताउनु भयो ।
संरक्षण क्षेत्रले पनि स्थानिय वासिन्दा, धार्मिक गुरुहरु, सुरक्षाकर्मी, जनप्रतिनिधि सबैसंग समन्वय गरी संरक्षणको काम गर्दै आएकोले पनि संरक्षण क्षेत्र स्थापनाको १० बर्षको अवधिमा बन्यजन्तु संरक्षणमा महत्वपूर्ण उपलब्धि हासील भएको प्रमुख शाहको भनाई छ ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले दोलाखमा बिशेषगरी हिउँ चितुवा, रेडपाण्डा र कस्तुरीको उल्लेख्य उपस्थिति रहेकोले यस्ता अति दुर्लभ बन्यजन्तुको संरक्षणको लागि स्थानिय तह लगायत सबै क्षेत्रले सहयोग गर्नु पर्ने र सरकारले दोलखाको रोल्वालिङ उपत्यका तथा लामाबगर लप्ची क्षेत्रलाई हिउँ चितुवा, रेडपाण्डा र कस्तुरी संरक्षण विशेष क्षेत्र घोषण गरी थप कार्यक्रम संचालन गर्नु पर्ने बताउनु भयो ।