काठमाडौ । प्रदेश ३ को राजधानी मकवानपुरको हेटौँडा राख्ने या अन्यत्र भन्ने विषयमा सहमति जुटाउन बसेको नेकपा प्रदेश ३ को संसदीय दलको बैठक विना निश्कर्ष सकिएको छ ।
नाम बागमतीमा धेरैले सहमति जनाए पनि राजधानीबारे धारणा बाझिएपछि बैठकले निश्कर्ष निकाल्न नसकेको हो । यद्यपी राजधानीका बारेमा सहमतिको प्रयास भने अझै जारी रहेको सांसदहरुको भनाइ छ ।
नेकपा सचिवालयले प्रदेश नम्बर ३ को राजधानी मकवानपुरको हेटौँडा र नाम वागमती राख्न निर्देशन दिएपछि सांसदहरु पक्ष र विपक्षमा उभिएका हुन् । धेरैजसो प्रदेश सांसदहरुले प्रदेश सभाको अधिकारको ख्याल नगरी नेकपा केन्द्रले नाम र राजधानी तोक्न लगाएर हस्तक्षेप गर्न खोजेको गुनासो गर्दै कुनै हालतमा सचिवालयको निर्देशन पालना नगर्ने चेतावनी दिएका छन् ।
तीन नम्बर प्रदेशसभाको बैठक पुस २२ गतेबाट सुरु हुँदैछ । प्रदेश सभा बैठकमा प्रदेश राजधानी र नामाकरण पहिलो प्राथमिकतामा राखेर कार्यसुची बनाइएको छ । त्यसअघि राजधानी र नामका लागि सहमति जुटाउन भन्दै शनिबार र आइतबार बसेको नेकपा प्रदेश ३ को संसदीय दलको बैठकमा सांसदहरुबीच हेटौँडाको पक्ष र विपक्षमा देखिएपछि सहमति हुन नसकेको हो ।
प्रदेश तीनमा रहेका ११० सांसद मध्ये ८० जना सांसद नेकपाका छन् । तर धेरै जसो सांसद हेटौँडा राजधानी राख्दा चितवन र हेटौँडा बाहेका जनतालाई अपायक पर्ने भएकाले काभ्रे, भक्तपुर वा नुवाकोट राख्नुपर्ने पक्षमा छन् ।
सांसद पद खुस्काउने धम्की
हेटौँडाको विकल्पमा बोल्ने सांसदहरुको सांसद पद नै खुस्काइदिने धम्की आउन थालेको कतिपय सांसदको भनाइ छ । नाम नलेख्ने शर्तमा एक सांसदले भने, ‘धम्की आइरहेको छ । सांसद पद खुस्काइदिने समेतका धम्की बेहोर्नुपरेको छ ।’,
ती सांसदका अनुुसार हेटाँैडाको पक्षमा उभिन प्रधानमन्त्री र पार्टीका कार्यकारी अध्यक्षबाट सिँधै फोन गर्न लगाउने काम समेत भएको छ । ती सांसदले भने, ‘तर हामी त्यसरी धम्कीका भरमा डराउँदैनौँ ।’ यस्तो धम्की र फोन आउन थालेपछि केही दिन पहिलासम्म हेटौडाको विपक्षमा रहेकाहरुको स्वर नरम समेत हुन थालेको अर्का एक सांसदले बताए ।
‘कोहीलाई मन्त्री बनाउने आश्वसन त कोहीलाई जागिर खाइदिने धम्की आउन थालेपछि केही सांसद पार्टीको निर्णय मान्नुपर्ने’ पक्षमा पुगेका छन् ।
अध्यक्ष प्रचण्ड र महासचिव हेटौँडा जाने
सोमबारसम्म पनि राजधानीबारे सहमति नजुटे अन्तिम प्रयास स्वरुप नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेल हेटौँडा जाने तयारीमा छन् ।
सोमबारबाट संसद अधिवेसन सुरु भए पनि २३ गतेमात्रै राजधानीबारे प्रकृया सुरु हुने भएकाले अध्यक्ष र महासचिव हेटौँडा जान लागेका हुन् ।
डोरमणी सहमतिको विपक्षमा !
तीन नम्बर प्रदेश नेकपा संसदीय दलका नेता हुन डोरमणी पौडेल । तर पौडेल आफै सहमतिको विपक्षमा उभिएका छन् । उता, प्रदेश नम्बर ३ का सचिव नारायाण दाहाल भने सहमतिकै पक्षमा उभिएका छन् । ‘पौडेलको भुमिका सहमति खोज्ने भन्दा विगार्ने देखिएको छ । बरु प्रदेश सचिवको भुमिका सहमति जुटाउने देखिएको छ,’ अर्का एक सांसदको भनाइ छ । …. from. ratopati