
चितवन । पूर्वी चितवनको कालिका वडा नं. ६ स्थायी घर भई हाल हङकङ बस्दै आएका आकाश बञ्जाराले एक सामुदायिक विद्यालयलाई ४ थान कम्प्युटर सहयोग गरेका छन् । विद्यार्थीहरुलाई कम्प्युटर विषय अध्ययन गर्न सहज होस् भन्ने उद्देश्यले उनले स्थानीय श्री माध्यमिक विद्यालय रेडक्रसग्राममा ४ थान कम्प्युटर सहयोग गरेका हुन् । सो विद्यालयमा विपन्न वस्तीका विद्यार्थीहरु अध्ययनरत छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम बहादुर राना मगरको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा विद्यालयका प्राचार्य नन्दलाल लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो कम्प्युटर सहयोगीदाता बञ्जाराले कपिल बगाले मार्फत् हस्तान्तरणका लागि विद्यालयमा पठाएका थिए । उनी हाल हङकङमै ह्याण्डीक्राफ्टको व्यवसाय गर्दै आएका छन् ।
उनले हङकङमा रही बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने अभियान समेत चलाउँदै आएका छन् । सो कम्प्युटर हस्तान्तरण कार्यक्रममा कालिका नगर कार्यपालिका सदस्य दुर्गा सुवेदी, कालिका नगर शिक्षा अधिकृत ऋषिराम शर्मा, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य पत्रकार शिशिर सिंखडा, कपिल बगाले, विद्यालयका शिक्षक सुदिप रिमाल, शिक्षिका सपना श्रेष्ठ लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।
हङकङ निवासी बञ्जाराले यस अगाडि पनि विभिन्न विद्यालयहरु, चेपाङ केन्द्र, जामे मस्जिद, विपन्न वस्तीहरुमा कम्प्युटर, नगद, स्टेशनरी, कपडा लगायतका सहयोगहरु गर्दै आएका छन् ।