चितवन । पूर्वी चितवनको रत्ननगर १२ जमुनापुरमा रहेको राष्ट्रिय आधारभूत विद्यालय जमुनापुर ‘क’ को ३१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आज भएको छ । सो वार्षिकोत्सव कार्यक्रममा विद्यालयका विद्यार्थीहरुलाई दिइदैँ आएको दिवा खाजा कार्यक्रमलाई निरन्तरताको घोषणा गरिएको छ ।
जमुनापुर हेल्प सोसाइटीका संरक्षक राज थापा र श्रीमती कृष्टा थापाले सन् २०१९ बाट सो विद्यालयमा दिवा खाजा सहयोग उपलब्ध गराउँदै आएका थिए । उनीहरुले सन् २०२० को लागि पनि विद्यालयका विद्यार्थीहरुका लागि दिवा खाजा उपलब्ध गराउने घोषणा गरेका हुन् । स्थायी घर रत्ननगर १२ जमुनापुर भई हाल जर्मनीमा बस्दै आएका राज थापा, श्रीमती कृष्टा थापा तथा जर्मन नागरिक जुटा र इरिचले सो दिवा खाजा कार्यक्रममा सहयोग गर्दै आएका छन् । सो सहयोग घोषणा कार्यक्रममा सोसाइटीका उपाध्यक्ष रमेश कट्टेल, सचिव विनोद अधिकारी, कोषाध्यक्ष सुजिन्द्र बहादुर थापाको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा हेल्प सोसाइटीका संरक्षक राज थापाले सो सहयोग कार्यक्रम निरन्तरता दिने बताएका थिए । संरक्षक थापाले यस अगाडि पनि विभिन्न सामाजिक क्षेत्रमा आर्थिक सहयोग गर्दै आएका छन् भने सो हेल्प सोसाइटीको बहुउद्देश्यीय भवन निर्माणको लागि ५० लाख भन्दा बढी रुपैया सहयोग गरिसकेका छन् । सोसाइटीले सो बिध्यालयमा विविध सहयोग गर्दै आएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद शर्मा पौडेलको अध्यक्षतामा भएको सो अभिभावक दिवस कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. ३ का सांसद कन्चन खनाल, जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकाेटी, सदस्य चुडामणि महतो, रत्ननगर १२ का वडा अध्यक्ष बीर बहादुर पाख्रिन, जमुनापुर हेल्प सोसाइटीका अध्यक्ष रविन्द्र जङ्ग थापा, सोसाइटीका संरक्षक राज थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए । शिक्षक अभिभावक संघका अध्यक्ष धर्मध्वज लम्सालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमा विद्यालयका प्राचार्य विश्वहरि आचार्यले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा नगर शिक्षा अधिकृत राजेन्द्र बराल, रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भिमसेन पौडेल, चेतनशील महिला समूहकी सचिव अनिता अर्याल, विद्यालयका शिक्षक विष्णु प्रसाद पौडेल, विद्यार्थीहरु पूर्णिमा गुरुङ्ग, अशोक भुजेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । सोही अवसरमा विद्यालयमा अध्यापन गराउने उत्कृष्ट शिक्षक शिक्षिका तथा सहयोगीदाताहरुलाई सम्मान समेत गरिएको थियो ।
विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग
सामुदायिक अध्ययन केन्द्र बछ्यौलीले यसै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई हालै जाडोमा लगाउने न्यानो कपडा सहयोग गरेको छ । विद्यार्थीहरुलाई ज्याकेट, ट्राउजर, टोपी, जुत्ता, मोजा सहयोग गरिएको संस्थाका कार्यालय सचिव दिपेन्द्र खरेलले जानकारी दिए ।
सो संस्थाले विगतमा पनि विभिन्न विपन्न वस्तीमा न्यानो कपडाका अतिरिक्त विभिन्न सहयोगहरु गर्दै आएको संस्थाका अध्यक्ष केशव पाण्डेले जानकारी दिए । सो विद्यालयमा शिशु कक्षादेखि पाँचसम्मका विद्यार्थीहरु अध्ययनरत छन् ।