चितवन । कालिका नगरपालिकाले तयार गरेको नगर शिक्षा ऐन २०७५ तत्काल खारेज गर्न नेपाली कांग्रेस कालिका नगर समितिले चेतावनी दिएको छ । नगरपालिकाका वडा अध्यक्ष एवम् कार्यपालिका सदस्यहरुलाई समेत छलफल नगराई, गुमराहमा राखी शिक्षा ऐन लागु गर्न खोज्नु अत्यन्तै अलोकतान्त्रिक भएको नेपाली कांग्रेसले ठहर गरेको बताएको छ ।
पञ्चायती शैलीमा आफैले मात्र टिका लगाइदिने तरिकाले नगर प्रमुख खुमनारायण श्रेष्ठले तयार गरेको शिक्षा ऐन खारेजी नगरे त्यसको प्रतिरोध समेत गर्न कांग्रेस बाध्य हुने कालिका नगर सभापति राजु श्रेष्ठले बताए । यस अगाडि पनि नेपाली कांग्रेसले कालिकाका मेयर श्रेष्ठलाई विविध विषयमा ज्ञापन पत्र बुझाए पनि बेवास्ता गरिएको बताएको छ । नेपाली कांग्रेस कालिका नगर समितले हिजो सोमबार नगर प्रमुख श्रेष्ठलाई ज्ञापन पत्र समेत बुझाएको छ । कानुनी शासन र विधिको चेतना समेत नगरी ल्याइएको सो शिक्षा ऐन संघीय शिक्षा ऐनसँग बाँझिएको समेत सो विज्ञप्तीमा उल्लेख छ ।
सो ऐन एक हप्ताभित्र फिर्ता लिन कांग्रेसले चेतावनी समेत दिएको छ । नेपाली कांग्रेसका कालिका सभापति राजु श्रेष्ठ, कांग्रेस नेता कमल आचार्य, निरुजा श्रेष्ठ तथा नगरका वडा अध्यक्षहरु सहितको टोलीले नगर प्रमुखलाई भेट गरी सो ज्ञापन पत्र बुझाएको जनाइएको छ ।
५ जना वडा अध्यक्षहरुले पनि नगर प्रमुखलाई बुझाइए ज्ञापन पत्र
त्यसैगरी नगरपालिकाका ५ वटा वडाका अध्यक्षहरुले पनि नगर शिक्षा ऐन २०७५ हामीलाई थाहै नदिई छलेर ल्याएको बताएका छन् । नगर कार्यपालिकाको बैठकमा छलफल नै नगरी मेयर श्रेष्ठले निर्णय गरी ल्याएको भन्दै उनीहरुले सो शिक्षा ऐन सातदिन भित्र फिर्ता गर्न चेतावनी दिएका छन् । नगर प्रमुखलाई बुझाइएको सो ज्ञापन पत्रमा नगर परिषद्मा छलफल नगरी गुप्त शैलीमा माइन्युटमा लेखिएको विषयले गम्भिर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख छ । सो ज्ञापन पत्रमा वडा नं. १ का अध्यक्ष लिला बहादुर गुरुङ, ४ का अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, ५ का अध्यक्ष जियन महतो, ९ का अध्यक्ष हेम बहादुर क्षेत्री र वडा नं. १० का अध्यक्ष दिल बहादुर गुरुङको हस्ताक्षर रहेको छ । नगरका पाँचवटा वडामा कांग्रेस निकटका वडा अध्यक्षहरु निर्वाचित भएका हुन् । नगरमा कुल ११ वटा वडा रहेको छ ।
हेर्नुस् विज्ञप्तीहरु…