चितवन । पूर्वी चितवनको रत्ननगरमा लायन्स तथा लियो क्लवको संयुक्त पदस्थापन कार्यक्रम आज सम्पन्न भएको छ । ५ वटा लायन्स क्लव तथा २ वटा लियो क्लवको एक कार्यक्रमका बिच पदस्थापन गरिएको हो । पदस्थापन हुने क्लवहरुमा लायन्स क्लव अफ चितवन कालिका, चितवन पर्सा, चितवन खैरहनी, चितवन कम्युनिटी हेल्थ र चितवन नेशनल पार्क रहेका छन् ।
त्यसैगरी लियो क्लव अफ पर्सा र चितवन खैरहनीको पनि पदस्थापन गरिएको थियो । संयुक्त पदस्थापन कार्यक्रमको पहिलो सत्रको अध्यक्षता लायन्स क्लव अफ चितवन कालिकाका वर्ष २०१८।१९ का अध्यक्ष शिशिर सिंखडाले गरेका थिए भने दोश्रो सत्रको अध्यक्षता लायन्स क्लव अफ चितवन नेशनल पार्कका संस्थापक अध्यक्ष एवम् वर्ष २०१९।२० का अध्यक्ष निरज श्रेष्ठले गरेका थिए ।
सो पदस्थापन कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लव इन्टरनेशनल ३२५ बी २ नेपालका डिस्ट्रिक्ट गभर्नर अनुप कुमार पहारीले लायन्स क्लव मार्फत् विश्वभर नै सेवाका हातहरु अगाडि बढिरहेको बताए । विश्वमै लायन्स क्लव मार्फत् विभिन्न सामाजिक कार्य भएको समेत उनले बताएका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि सेकेण्ड भाइस गभर्नर राम प्रसाद भट्ट, रिजन चियर पर्सन तथा कार्यक्रम सम्योजक कृष्ण लाल श्रेष्ठ, लायन्स क्लव अफ पर्साका वर्ष २०१८।१९ का अध्यक्ष टेकराज अधिकारी, लियो क्लवका अमित गुप्ता लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए । कार्यक्रममा लायन्स क्लवमा रहेर योगदान पु¥याउनु हुने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।