हेर्नोस् सूचना पाटी ! यसैगरी बन्छ त समृद्ध कालिका ? के भन्छन् मेयर श्रेष्ठ ?

चितवन । कालिका नगरपालिकाको खोलेसिमल बजारदेखि लंकालाईन सम्मको बाटो निर्माणको सन्दर्भमा राखिएको योजना सूचना पाटी पक्कै पनि तपाईहरुले माथि फोटोमा देख्नुभयो होला । यो सूचना पाटीमा निर्माण सम्पन्न गर्नुपर्ने मितिलाई टेपले टालेर छोपिएको छ ।

सामाजिक संजालमा यसै सूचना पाटीको फोटो सहित राखेर स्थानीय कालिका–६ का शिव प्रसाद शर्माले यस्तो लेखेका छन् – ‘सम्पन्न मिति नराखीकन किन राखियो सूचना बोर्ड, कालिका नगरपालिका खोलेसिमलदेखि लंकालाईनसम्मको ? सुनेको त २०७६ कार्तिक मसान्तसम्म सम्पन्न भईसक्नुपर्ने । जिज्ञासा ? भनेर पोष्ट गरेका छन् ।

२ करोड ५२ लाख रुपैया लागतमा निर्माण सम्पन्न हुने सो बाटो कहिले बनिसक्नुपर्ने हो । वडा सरकार र नगर सरकार के हेरेर बसेको छ ? स्थानीयवासीले आक्रोस पोखेका छन् । के यस्तै रमिते पाराले समृद्ध कालिका ५ वर्ष भित्रमा बन्ला त ? स्थानीयले दुखित हुँदै भने ।

कालिका नगरपालिकाको २ करोड ५२ लाख रुपैयाको बजेटमा बन्ने सो सडकको निर्माण कार्यमा नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले चासो दिएका छैनन् । सो सडक गत कार्तिक मसान्तसम्म सम्पन्न भईसक्नुपर्ने थियो । हालसम्म वडा कार्यालय र नगरपालिकाबाट कुनै पनि ताकेता भएको पाइएको छैन ।

सडक निर्माणको जिम्मा पाएको संरक्षण रोयल जे भी भरतपुरका उमानन्द कडेलले बाटो कार्तिक मसान्तभित्रै सम्पन्न गरिसक्नुपर्ने भएपनि निर्माण सामग्रीको अभावले काम थालनी मात्र गरिएको बताएका छन् ।

यसै सन्दर्भमा कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले पत्रकारहरुको जिज्ञासामा खोलेसिमलको बजारमा टाँसिएको सूचना पाटीतर्फ देखाउँदै ठेकेदारसँग काम गर्न नसकिने प्रतिक्रिया दिए ।

उनलाई पत्रकारहरुले गत शुक्रबार सोही सूचना पाटी अघिल्तिरै रहेको यूनिक बचत तथा ऋण सहकारी संस्थाको शाखा कार्यालय उद्घाटनको क्रम सकिए पछि सूचना पाटी देखाउँदै प्रश्न गरेका थिए । ठेकेदारको मनोमानी र नगर प्रमुखको लाचारी अभिव्यक्तिले कालिकावासीले कस्तो विकासको आशा राख्ने ? ठेकेदार र जनप्रतिनिधिको मिलेमतो वा छाडापन ? नगरवासीको प्रश्न रहेको छ ।

यस अगाडि पनि नगर प्रमुखलाई स्थानीयले खोला दोहन, पानीको मुहान सुक्ने गरी क्रसर राख्न अनुमति दिँदा समेत आर्थिक चलखेल गरेको र ठेकेदारहरुसँग मिलेमतो गरेको, अबैध मुना सहकारीलाई खोलेसिमल बजारमा शाखा खोल्न दिएको आरोप लगाउँदै आएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको