
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले प्रमको स्वास्थ्यबारे तथ्यभन्दा पनि बढी अतिरञ्जित कुरा मिडियामा आएको बताएका छन् ।
‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था सन्तोषप्रद ढंगले तिव्र गतिमा सुधार भएको छ । आज प्रधानमन्त्रीज्यूको निजी चिकित्सक र उहाँको उपचारमा संलग्न आधा दर्जन चिकित्सकहरुले पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी गराउनुभएको छ’, उनले भने, ‘उहाँको अहिलेको स्थिति के छ ? भन्नेबारे उहाँहरुले सत्य, तथ्य सार्वजनिक गर्नुभएको छ । अर्को हप्ता उहाँ डिस्चार्ज हुनुहुनेछ ।’
उनले प्रधानमन्त्री ओली जेलमा हुँदा पनि असाध्यै बिरामी भएर निकै जीवन–मरणको दोसाँधबाट त्यो चरण पार गरेर २०४४ सालमा रिहाई भएको स्मरण गराए । थापाले थपे, ‘उहाँको स्वास्थ्य समस्या अकस्मात् रुपमा वा अहिले अस्पताल भर्ना भएर देखा परेको होइन् । उहाँले ४०, ४२ वर्षदेखि विभिन्न रोगहरुको सामना गर्दै आउनुभएको छ । यस बीचमा अहिले भर्खरै यो किड्नीको समस्या देखापरेको जस्तोगरि कथा बुन्नुभएन ।’
उनले प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे कथाहरु बुनिएको भन्दै गुनासो पोखे । उनले भने, ‘कथा त चलचित्रलाई काम लाग्छ । तर, व्यवहारिक जीवनलाई त्यसले काम दिँदैन । प्रधानमन्त्रीज्यू अस्पतालमा भर्ना हुनासाथ सिर्जना गरिएका डर र आतंकबाट पनि मिडिया अलि सच्चिनुपर्छ ।’
एपेन्डिसाईटिसको शल्यक्रिया सामान्य कुरा भएको बताउँदै उनले यसलाई अतिरञ्जित गर्न नहुने सुझाव दिए । प्रधानमन्त्रीको सामान्य अवस्थालाई स्वास्थ्य स्थिति भयंकर छ भन्न नहुने उनको भनाइ छ ।
त्यस्तै, अस्पतालका एकजना चिकित्सकले पनि आतंक सिर्जना गरेको उनको टिप्पणी छ । उनले भने, ‘उहाँका सबै अंग काम लाग्न नसक्ने हुनसक्छ भनेर आतंक मच्चाईएको छ । उहाँलाई संक्रमण नहोस भनेर भेन्टिलेलटरमा राखिएको हो । अबको केही दिनपछि उहाँ पूर्ण स्वास्थ्य लाभ गरेर डिस्चार्च हुनु हुनेछ ।’
थापाले व्यक्तिको मेडिकल प्राईभेसीको पनि उल्लेख गरे । उनले भने, ‘मेडिकल प्राईभेसीले व्यक्तिको स्वास्थ्योपचार र औषधी के के लिने ? भन्ने गोपनियताको हकलाई सुरक्षा गरेको छ । संसारमा यो अभ्यास छ । हामीकहाँ तथ्यमा आधारित नभई स्रोतको हवला दिएर जथाभावी लेख्ने चलन छ । स्रोतको हवला दिएर आफ्नो जे मिशन हो र आफूलाई जे लाग्यो त्यही लेख्न र राख्न पाइँदैन ।’
प्रधानमन्त्रीको स्वास्थ्य र संक्रमणको खतरालाई अलिक बढि केन्द्रित गरेर आफूहरुले भेटघाटलाई कम गरेको उनले सुनाए । उनले भने, ‘मेडिकल टिम, परिवारका सदस्य, सचिवालयका पनि छानिएका व्यक्तिबाहेक उहाँलाई हिजो सम्माननीय राष्ट्रपतिज्यूले भेट्नुभयो । राष्टप्रमुखबाहेक अरुले उहाँलाई भेट्न पाउनुभएको छैन । संक्रमणको समस्या नहोस भनेर हामीले यस्तो प्रवन्ध गरेका हौं ।’