मेडिकल कलेजसँग आज वार्ता : शूल्क फिर्ता नगरे भोलि बुधबार गिरफ्तार गर्ने निर्णय

काठमाडौं । शिक्षा मन्त्रालयमा मेडिकल कलेज सञ्चालकसँग पुनः छलफल भएको छ। मेडिकल शिक्षाको शुल्क फिर्ताको विषयलाई लिएर आज मंगलबार साँझ शिक्षा मन्त्रालयमा पुनः छलफल भएको हो।

मेडिकल कलेजले उठाएको गैरकानूनी शुल्क फिर्ता नभएपछि सञ्चालकलाई गृह मन्त्रालयले भोलि  बुधबारबाट कारवाही थाल्ने भएको छ। गृह स्रोतका अनुसार मंगलबार अपराह्न बसेको सर्वपक्षीय बैठकले बुधबारबाट मेडिकल कलेज तथा सञ्चालकलाई कारबाही थाल्ने निर्णय भएको हो।

भोलि बुधबारदेखि विद्यार्थीबाट जाहेरी लिने र सञ्चालकलाई पक्राउ गरी कारबाही थाल्ने निर्णय भएको छ । मेडिकल कलेजलाई सरकारले पन्ध्र दिने र चौबीस घन्टै अल्टिमेटम यसअघि नै दिइसकेको थियो। सो समयमा पनि मेडिकल कलेजले विद्यार्थीबाट उठाएको गैरकानूनी शुल्क फिर्ता नगरेपछि मंगलबार गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको थियो।

छलफलमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी, मेडिकल कलेज सञ्चालकहरु सहभागी रहेको शिक्षा मन्त्रालय स्रोतले जानकारी दिएको हो। यसअघि मंगलबार नै शिक्षा मन्त्राललयमा भएको पहिलो बैठकमा निजी मेडिकल कलेजले चित्त बुझ्दो प्रतिवद्धता पेश नगरेपछि शिक्षामन्त्री पोखरेलले कलेज सञ्चालकहरुलाई पुनः छलफल गर्न र स्पष्ट पत्र लेख्न दिर्नेशन दिएका थिए।

यसअघिको छलफलमा निजी मेडिकल कलेजहरुले काठमाडौं विश्व विद्यालयको परिपत्र अनुसार नै शुल्क लिएको भन्दै समायोजन गर्न सकिने विद्यार्थीको मात्र शुल्क समायोजन गर्ने बताएका थिए । निजी मेडिकल कलेज सञ्चालकले सरकारले तोकेको शुल्क भन्दा बढी शुल्क लिएको स्वीकार गरे पनि शुल्क फिर्ता गर्ने विषयमा प्रतिवद्धता पत्रमा स्पष्ट खुलाएका थिएनन् ।

मेडिकल कलेज सञ्चालकको पहिलो वार्ता निष्कर्षविहीन भएपछि शिक्षा मन्त्री पोखरेलसहित गृहमन्त्री रामबहादुर थापा, महान्याधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सवेन्द्र खनाल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी लगायत गृह र शिक्षा सचिवको बैठक बसेको थियो।

सो बैठकमा मेडिकल कलेजसँग पुनः छलफल गर्ने निर्णय भएपछि अहिले मेडिकल कलेज सञ्चालकसँग पुनः छलफल भएको हो । सरकारले तोकेको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजलाई १५ दिनको अन्तिम अल्टिमेटम दिँदासमेत शुल्क फिर्ता छैनन् ।

सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै मेडिकल विद्यार्थीहरु लामो समयदेखि आन्दोलित छन् । विद्यार्थीको आन्दोलनपछि सरकारले कात्तिक २५ गते मेडिकल कलेज सञ्चालकहरुलाई १५ दिनभित्र शुल्क फिर्ता गर्न अन्तिम अल्टिमेटम दिएको थियो ।

तर सरकारले चेतावनीपछि पनि मेडिकल कलेजहरु शुल्क फिर्ता गर्न सहमत छैनन् । सरकार र मेडिकल कलेज सञ्चालकबीच शुल्क फिर्ताकै विषयमा वार्ता भइरहेको छ । सो छलफल टुंगिएपछि मात्र मेडिकल कलेजले शुल्क फिर्ता गर्ने वा नगर्ने भन्नेबारे थप जानकारी आउने स्रोतले बतायो । सरकारले दिएको अल्टिमेटम आज सकिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको