
चितवन। चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ चितवनको भरतपुरमा हुने भएको छ । मंसिर ६ गतेदेखि ९ गतेसम्म चितवन एक्स्पो सेन्टरमा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीको आयोजकको रुपमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,भूमी व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ३ र नेपाल कृषि मेशिनरी व्यवसायी संघ रहेका छन् ।
प्रदर्शनी स्थलमा तयारी तीब्र पारिएको आज (बुधवार) पत्रकार सम्मेलनको आयोजना गरी नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष स्वयम्भु कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले एकै थलोमा कृषि सम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, यन्त्र उपकरणहरु तथा सेवाका वारेमा जानकारी लिन सकिने बताउनुभयो ।
लक्षित बर्ग कृषक, नीति निर्माता, उद्यमी, व्यवसायी, सरकारी एवं गैह्र सरकारी सस्थांहरु, कृषक समुह, कृषि सहकारी सस्थां वैज्ञानिक, शिक्षक तथा विद्यार्थीहरुले नेपालमा भित्रीएका कृषि यन्त्र र उपकरणहरुको बारेमा जानकारी लिउन भन्ने उदेश्यले अवलोकनको लागि निशुल्क व्यवस्था गरिएको आयोजकको भनाई छ । चितवनको नारायणघाट बाट सुरुवात भएको पहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी दोस्रो बाकेंको कोहलपुर र तेस्रो धरान सुनसरी हुदै चौथो प्रदर्शनी चितवनकै एक्स्पो सेन्टरमा हुन लागेको हो ।