
चितवन। रत्ननगर नगरपालिकाले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने विपन्न समुदायको बीमा गरेको छ । आजबाट लागू हुने गरी सात वडाका विपन्न परिवारको जीवन र जनधनको बिमा गरिएको हो । नगरप्रमुख नारायण वनका अनुसार वन्यजन्तु र दुर्घटना जुनसुकै कारणले र जुनसुकै ठाउँमा बीमा गरेका व्यक्तिको निधन, घाइते वा अङ्गभङ्ग भएमा बिमा भुक्तानी गरिनेछ । मृत्यु हुँदा रु १० लाख पाउने गरी बीमा गरिएको हो ।
यसैगरी बालीनाली, घरपालुवा जनावर र घरगोठको क्षति भएमा पनि क्षतिका आधारमा बीमा भुक्तानी गरिने उहाँले जानकारी दिनुभयो । नगरपालिकाका प्रेस सल्लाहकार होमनाथ सापकोटाका अनुसार नगरपालिकाले रु आठ लाख, विश्व वन्यजन्तु कोषले रु आठ लाख, मृगकुञ्ज उपभोक्ता समितिले रु चार लाख, बाघमारा मध्यवर्ती सामुदायिक वनले रु चार लाख र सम्बन्धित बीमितबाट रु आठ लाख भुक्तानी गर्ने गरी रु ३२ लाख बराबरको बीमा गरिएको छ ।