बनेन नेपाल–चीन सीमा अनुगमन संयन्त्र : सगरमाथाको उचाइ र पिल्लर नम्बर ५७ को विषयमा अस्पष्टता

काठमाडौं । नेपाल–चीन सीमा अनुगमन संयन्त्र बन्न नसक्दा लामो समयदेखि सीमा अनुगमन हुन नसकेको पाइएको छ ।

सन् २००७ पछि अनुगमन संयन्त्र बन्न नसक्दा सीमाको अवस्था अद्यावधिक हुन नसकेको हो । नेपाल चीनबीच प्रत्येक १० वर्षमा संयुक्त अनुगमन हुने गरेकोमा सन् २००७ पछि अनुगमन भने हुन सकेको छैन ।

सीमासम्बन्धी जानकार नेपाल चीनबीचको सीमा सम्बन्धमा ठूलो समस्या नरहेको बताउँछन् । उनीहरू नेपाल चीनबीच दोलखामा रहेको पिल्लर नम्बर ‘५७’ र सगरमाथाको उचाइका सम्बन्धमा केही अस्पष्टताबाहेक अन्यत्र समस्या नरहेको बताउँछन् ।

सीमामा चीनतर्फ नदी नभएर स्थलगत सीमाना रहेकाले ठूलो समस्या नरहेको जानकारहरू बताउँछन् । नापी विभागले भारत र चीनतर्फको सीमाको डिजिटल डाटाबेस तयार भइसकेको जनाएको छ ।

विभागका महानिर्देशक प्रकाश जोशी सुस्ता र कालापानीबाहेकको सिमानाका सम्बन्धमा डिजिटल डाटाबेस तयार भएको बताउँछन् । ‘डिजिटल डाटावेशमा सीमाको सम्पूर्ण जानकारी रहने गर्छ । सीमामा क्षति पुगेकोे अवस्थामा दुई देशको सहमतिमा समस्या समाधान गर्न सकिन्छ ।

विभागले सगरमाथाको उचाइ मापनको काम भइरहेको जनाएको छ । विभागका महानिर्देशक जोशीले सगरमाथा उचाइ मापनको स्थलगत काम भइरहेको बताए । स्थलगत मापनको काम सम्पन्न भएसँगै विस्तृत विश्लेषण गरी सगरमाथाको उचाइ सार्वजनिक गरिने उनले बताए । राजधानी दैनिकले खबर छापेकाे छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको