
चितवन । भरतपुर महानगरपालिका वडा नं. १० हाकिमचोकमा रहेको मुना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापकको मिलेमतोमा लाखौ रकम दुरुपयोग भएको छ । संस्थाका अध्यक्ष श्रीराम कुइकेल र व्यवस्थापक माधव अर्यालले आफूखुसी रकम दुरुपयोग गर्ने गरेको पाइएको हो ।
संस्थाका अध्यक्ष र व्यवस्थापकको मिलेमतोमा के कति रकम हिनामिना भयो हालसम्म पत्ता लागेको छैन । संस्थाको बचत र लगानीको बारेमा जानकारी माग्दा संस्थाले चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लाई समेत हिसावको बारेमा जानकारी नगराएको पाइएको छ । संघका जिम्मेवार व्यक्तिहरु सहकारीमा गएर हिसाव माग्दा समेत नदिएको पाइएको हो ।
अध्यक्ष र व्यवस्थापकको मिलेमतोमा उनका आफन्त र साथीहरुलाई लाखौ रकम एक प्रतिशत ब्याजमा लगानी गरेको समेत पाइएको छ । त्यस्तैगरी ५ लाख रुपैया सम्म विना धितो ऋण लगानी गर्दै आएको सो संस्थाले ३० प्रतिशत रकम जम्मा गरेका बचतकर्तालाई ऋण लगानी गर्नुपर्नेमा सो विपरीत समेत उनीहरुले ऋण लगानी गरेका छन् ।
सहकारीले २ जना व्यक्तिको जग्गा धितो राखी सहकारी विकास बैंकबाट ८०/८० लाख रुपैया ऋण लिएको छ भने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सुन) बाट ५० लाख रुपैया ऋण निकालेको सो सहकारीले १७ लाख रुपैया तिर्न बाँकी छ । संस्थाले स्थापनाकाल देखि शेयर सदस्यहरुलाई कुनैपनि मुनाफा रकम नदिएको र साधारण सभामा समेत लेखापरीक्षण प्रतिवेदन पनि बाँड्ने नगरेको एक शेयर सदस्यले बताए ।
गत आर्थिक वर्षको असार मसान्त सहकारीको भल्टमा १ करोड ६० लाख रुपैया हुनुपर्नेमा २ लाख १० हजार मात्र देखिएको थियो । दुई महिना अगाडि निर्वाचित तत्कालिन कार्यसमितिले संस्थाको हिसाव नमिलेको भन्दै निवर्तमान अध्यक्ष श्रीराम कुइकेलसँग हिसाव बुझ्न मानेनन् साथै उनीहरुले अडिट रिपोर्टमा समेत हस्ताक्षर नगरी तत्कालिन अध्यक्ष सहित समितिले पद समेत छाडेका थिए । त्यस लगत्तै पुनः कुइकेल नै अध्यक्षमा आएका थिए । सो संस्थाको स्थापनाकालदेखि हालसम्म अध्यक्ष श्रीराम कुइकेल अधिकांश समय अध्यक्ष नै रहेका छन् ।
कस्तो छ संस्थाको अवस्था ?
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सुन) की केन्द्रीय सदस्य शान्ति अधिकारीले सो संस्थामा संघका तर्फबाट पटक पटक संस्थाको कार्य संचालन गतिविधि सुधार गर्न अनुरोध गरेपनि सो अनुसार हुन नसकेको उनले बताइन् ।
त्यसैगरी चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिश्चन्द्र सुवेदीले सो सहकारीले सहकारी सिद्धान्त विपरीत कार्य गरेकाले सो संस्था निलम्वन गर्न भरतपुर महानगरपालिकालाई जानकारी गराएको बताए । सो संस्थाको संघले आर्थिक कारोवारको बारेमा पटक पटक जानकारी माग्दा समेत कारोवारको जानकारी नगर्नुले सो संस्थामा आर्थिक अनियमितता हुनसक्ने उनले बताए ।
के छ भनाइ भरतपुर महानगरको ?
भरतपुर महानगरपालिका सहकारी शाखाका सहकारी अधिकृत रामबाबु पौडेलले मुना बचत तथा ऋण सहकारी संस्थाको भरतपुरको पार्वतीपुर र कालिकाको खोलेसिमल बजारमा शाखा कार्यालय विना अनुमति संचालन भएको बताए । भरतपुरको पार्वतीपुरमा रहेको शाखा कार्यालय पटक पटक बन्द गर्न भनेका छौ टर्दैनन्, उनले भने । दर्ता नगरी चलाएका संस्थाबाट आर्थिक कारोवार गर्न नपाइने समेत उनले बताए ।
हाल सो सहकारीले भरतपुर १९ पार्वतीपुर र कालिका ६ खोलेसिमल बजारमा विना अनुमति सम्पर्क कार्यालय भन्दै शाखा कार्यालय मार्फत् करिव दुई करोड रुपैया संकलन गरेको छ भने १ करोड २० लाख भन्दा बढी लगानी समेत गरेको छ । भरतपुर कार्यलय बाट करिब १० करोड लगानी रहेको छ ।
समाचारको खण्डन
गत सोमबार संस्थाको गैरकानुनी शाखा संचालन सम्बन्धि समाचार सञ्चार माध्यममा प्रकाशित भएपछि सोको खण्डन गर्दै सहकारीले विज्ञप्ती जारी गर्दै सहकारी संस्थाको फेसबुकमा सो खण्डन पत्र र केही कागजपत्र राखेपनि केही घण्टा पछि सो कागजपत्रहरु फेसबुकबाट समेत हटाएको सहकारीको फेसबुक स्टाटसमा देख्न सकिन्छ ।
https://kalikadainik.com/2019/11/04/7632/