परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा समाजवादी पार्टीबाट निर्वाचित दुईजना वडा सदस्यसहित ३० जना सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
पाल्हीनन्दन गाउँपालिकाकी कार्यपालिका सदस्यसमेत रहेकी राजकुमारी कोहार र वडा सदस्य गुड्डीदेवी हरिजनको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी ३० जना सोमबार नेकपामा प्रवेश गरेका हुन् । दुवैजना जनप्रतिनिधि पाल्हीनन्दन गाउँपालिका–१ बाट निर्वाचित वडा सदस्य हुन् ।
उक्त वडा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कण्डेलको घर रहेको वडा हो ।
नेकपा पाल्हीनन्दन गाउँपालिका कमिटीले आज सुनवलस्थित नेकपा सुनवल नगरकमिटीको पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरी उहाँहरुलाई पार्टी प्रवेश गराएको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष एवं नेकपा जिल्ला सचिवालय सदस्य दीपक गुप्ताले जानकारी दिनुभयो ।
नेकपाका प्रदेश नं. ५ कमिटी सदस्य सूर्य न्यौपाने, जिल्ला सचिवालय सदस्य एवम् क्षेत्र नं २ का संयोजक थानप्रसाद गैरे, जिल्ला कार्यालय सदस्य एवम् सुनवल नगर ईन्चार्ज बिमला अर्याल, जिल्ला सचिवालय सदस्य एवम् पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्ता, जिल्ला सचिवाय सदस्य सरस्वती सुवेदी लगायतले उनीहरुलाई स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।
पार्टी प्रवेश गर्दै कार्यपालिका सदस्य कोंहारले नेकपाले देश र जनताको हितमा थुप्रै काम गरिरहेको तथा मधेस र मधेसीको विकासमा उच्च प्राथमिकता दिएको आफूले पाएकोले नेकपा प्रवेश गरेको बताएका थिए । नेकपा प्रदेश सदस्य न्यौपानेले सरकारले गरेका राम्रा कामलाई पनि विपक्षीले भ्रम छरेको आरोप लगाए ।
सो अवसरमा नेकपाका जिल्ला सचिवालय सदस्य एवं क्षेत्र नं. २ का संयोजक थानप्रसाद गैरे, जिल्ला कार्यालय सदस्य एवं सुनवल नगर ईन्चार्ज विमला अर्याल, सुनवल नगर सचिव विरबहादुर विक, पाल्हीनन्दन गाउँकमिटी सचिव सुरेश गुप्ता, राजकुमारी कोहार लगायतले बोल्दै नेकपा नेतृत्वको वर्तमान सरकारले ईतिहास रच्ने गरि विकास निर्माण तथा जनता खुशी पार्ने काम गरिरहेकाले अब नेपालको विकास गर्ने एकमात्र पार्टी नेकपा मात्रै रहेको उल्लेख गर्नुभएको थियोे ।