यस्तो छ चितवनको कालिका नगरपालिकाका मेयर श्रेष्ठको चर्तिकला

चितवन । चितवनको कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले अहिले चर्तिकला देखाउने र नाटकीय कार्य गर्न थालेका छन् । गत असोज १ गतेबाट कुनैपनि कार्यक्रममा खादा, माला नलगाउने र मायाको चिनो नलिने घोषणा गरेका श्रेष्ठले आफूलाई मन परेको कार्यक्रम र ठाउँमा भने खादा, माला लगाउने र मायाको चिनो लिने र मन नपरेको ठाउँमा नलिने गरेको पाइएको छ ।

गत असोज २६ गते नेपाली कांग्रेस चितवनले नारायणगढको नारायणी कला मन्दिरमा आयोजना गरेको दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको फोटोमा स्पष्ट देख्न सकिन्छ उनी मञ्चमा खादा लाएर बसिरहेका छन् । उनी सो कार्यक्रममा अतिथिको रुपमा मञ्चमा बसेका छन् भने ठाँटका साथ खादा र ब्याज लाएको देख्न सकिन्छ ।

नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेल सो कार्यक्रमका प्रमुख अतिथि रहेका थिए । कांग्रेस सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा सो कार्यक्रम भएको थियो । नाताले मेयर खुमनारायण श्रेष्ठ र जीतनारायण श्रेष्ठ दाजुभाइ पर्दछन् ।


त्यस्तै अर्को चर्तिकला हेर्नुहोस् मेयर श्रेष्ठको । चितवन केरा उत्पादक संघले गत असोज ८ गते आफ्नो पाँचौ वार्षिकोत्सव रत्ननगरमा गरेको थियो । सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल रहेका थिए । कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले सो कार्यक्रममा पनि माला र ब्याज लगाएर मञ्चको दोश्रो लहरमा बसेको देख्न सकिन्छ । कार्यक्रममा उनी मुख्यमन्त्रीको ठिक पछाडी देखिन्छन् ।


त्यस्तै हेर्नुहोस् अर्को चर्तिकला मेयर श्रेष्ठको ।  कालिका नगरपालिका वडा नं. ६ खोलेसिमलमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि. ले गत असोज ३ गते आफ्नो १२औँ साधारण सभा सम्पन्न गरेको थियो । सो कार्यक्रममा प्रमुख अतिथि थिए उनै कालिकाका मेयर श्रेष्ठ । उनले आफूले खादा लाउन गत असोज १ गते बाटै छाडेको भन्दै खादा लाएनन् । आयोजकले नरमाइलो माने । उनले मन्तव्यको क्रममा पनि खादा नलगाउने, मायाको चिनो नलिने भनेपछि ताली समेत पाएका थिए । आयोजकले प्रमुख अतिथिलाई दिन मायाको चिनो ल्याएको रहेछ । सो पनि लिने नगरेको भन्दै आयोजकलाई नै फिर्ता दिए । सो मायाको चिनो के गर्ने भन्नेमा आयोजकहरु अन्योलमा परी त्यसै कार्यालयमा राखेको बताउँछन् । त्यस्तै गरी उनले केही समय अगाडि सिद्धिमा भएको सपना भिलेज सोसियल इम्प्याक्टको कार्यक्रममा पनि खादा नलगाउने भन्दै लाएका थिएनन् ।

स्थानीय कार्यक्रमहरुमा खादा नलगाउने, मायाको चिनो नलिने मेयर श्रेष्ठले आफूले घोषणा गरेको धज्जी उडाउँदै विभिन्न कार्यक्रमहरुमा भने खादा लगाई बस्दै आएका छन् । नगरवासीलाई भ्रममा पार्दै हिडेका मेयरको चर्तिकला र नाटक देखेर स्थानीयवासीहरु चकित परेका छन् । पटक पटक विभिन्न विवादहरुमा मुछिएका श्रेष्ठले खानेपानीको मुहान नै मासेर कालिका ७ मा क्रसर उद्योगमा लगानी गरेको नगरवासीको आरोप छ ।

खोला दोहनमा मेयरले चासो नदिएको र विभिन्न विकास निर्माण कार्यमा पनि आर्थिक चलखेल गरेको समेत उनी माथि आरोप लाग्दै आएको छ । आफूले गरेको विभिन्न अनैतिक कार्यलाई ओझेलमा पार्न मेयर श्रेष्ठले  विभिन्न नाटक गर्ने खादा नलगाउने, मायाको चिनो नलिने गरेको उनलाई आरोप लागेको छ । मेयर भएपछि कमाउ धन्दामा लागेको समेत स्थानीयको आरोप छ ।

नगरपालिकाका विभिन्न विकास निर्माण र विभिन्न गतिविधिको लिखित र मौखिक सूचना माग गर्दा समेत उनले सूचना दिएका छैनन् । सोको उजुरी राष्ट्रिय सूचना आयोग काठमाडौमा परेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको