
चितवन । चितवनको रत्ननगर,टाँडीमा रहेको शहीद स्मृति बहुमुखी क्याम्पसमा व्यापक अनियमितता र भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
नेपालकै दोश्रो ठूलो सामुदायिक क्याम्पस तथा चितवनकै एक प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा सो क्याम्पस चिनिदै आएको छ । क्याम्पसमा निर्माण भएका विभिन्न कार्यहरुको प्रक्रिया विना भुक्तानी दिइएको, क्याम्पस प्रमुखको राजीनामा र निमित्त क्याम्पस प्रमुखका सन्दर्भको आरोप सहित पनि अख्तियारमा उजुरी परेको छ ।
क्याम्पस प्रमुखले अधिकार क्षेत्र भन्दा बाहिर कार्य गरेको, विभिन्न क्षेत्रबाट प्राप्त बजेट प्रक्रिया विना नै खर्च भुक्तानी गरेको आरोप समेत उजुरीमा रहेको छ । क्याम्पस प्रमुखले गत चैत्र १७ गते राजीनामा दिएपछि पुनः क्याम्पसमा गई नियम विपरीत विभिन्न कार्य गरी व्यापक अनियमितता गरेको आरोप सो उजुरीमा उल्लेख छ ।
त्यसैगरी क्याम्पस संचालक समितिको कार्य अवधि गत जेठ १७ गते सकिए पनि सो समितिले नियम विपरीत लाखौँ रकम दुरुपयोग गरेको उजुरीमा उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौँमा सो उजुरी आज (आइतबार) दर्ता भएको हो । सो उजुरीको दर्ता नं. सी८१२९ रहेको छ ।