रत्ननगरमा असोज ११ गते देखि राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने

चितवन । पूर्वी चितवन स्पोट्र्स क्लव रत्ननगर ३ को आयोजनामा आगामी असोज ११ गते देखि दोश्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

सो वडामा रहेको प्रास्तावित कर्बडहल निर्माण स्थलमा हुने सो प्रतियोगिताको विषयमा आयोजकले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । चितवनको खुलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितमा ३० देखि ५० जिल्लाका खेलाडीहरुको सहभागिता रहने क्लवका संरक्षक तथा प्रतियोगिताका संयोजक पुरु खनालले जानकारी दिए ।

प्रतियोगितामा व्याडमिन्टनका राष्ट्रिय स्तरका खेलाडीहरुको भीडन्त हुने उनले बताए । प्रतियोगितालाई व्यवस्थित बनाउदै जिल्लामै नमुना खेलका रुपमा प्रस्तुत गर्ने योजना रहेको खनालले बताए । गत बर्ष गरेको प्रतियोगितालाई सिकाईको रुपमा लिदै यस पटक व्यवस्थित गर्ने योजना रहेको उनले बताए । खेल खेल्नका लागि रत्ननगर आउने खेलाडीको आवास तथा खानपानको व्यवस्थापनलाई समेत महत्व दिएर काम गर्ने उनको भनाई छ । तीन दिन सम्म चल्ने सो प्रतियोगितामा ओपन डबल र भेट्रान डवलका खेलहरु हुने छ ।

प्रतियोगितामा खुल्ला तर्फ प्रथम हुनेलाई ६१ हजार र दोश्रो हुनेलाई ३१ हजार तथा भेट्रान तर्फ प्रथम हुनेलाई २४ हजार र दोश्रो हुनेलाई १५ हजार पुरस्कार,शिल्ड तथा मेडल प्रदान गरिने प्रतियोगिताका अर्का संयोजक विकास डल्लाकोटीले जानकारी दिए । प्रतियोगिताको लागि टिम दर्ता शुल्क खुल्ला तर्फ ४ हजार र भेट्रन तर्फ २५ सय रुपैया कायम गरिएको छ ।

प्रतियोगितामा उत्कृष्ट तथा सान्त्वना हुनेलाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए । प्रतियोगितामा भएको आम्दानी मध्येबाट २० प्रतिशत बजेट अनाथ वालवालिकाको शिक्षका लागि सहयोग गर्ने योजना रहेको क्लवका अध्यक्ष केवल न्यौपानेले बताए । पत्रकार सम्मेलनमा क्लवका सचिव राजु भट्टराईले तयारीको वारेमा जानकारी गराएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको