
खैरहनी । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं १० शान्तिबजारमा रहेको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थामा विहीवारराती साढे दुई लाख रुपैया चोरी भएको छ ।
संस्थाको झ्यालको ग्रिल झिकेर करिव साँढे २ लाख रुपैयाँ चोरी भएको संस्थाका अध्यक्ष जनकराज थपलियाले जानकारी दिए । दुध विक्री गर्ने कोठाको ग्रिल निकालेपछि भित्र रहेका ढोकाहरुको ताला फोडेर व्यवस्थापकको कोठामा रहेको पैसा चोरेको उनले बताए ।
किसानलाई वितरण गर्न ल्याएको र दुध विक्रीबाट संकलन भएको पैसा चोरी भएको हो । चोरले संस्थामा रहेको सीसी क्यामेराको हाडडिक्समा पानी हालिदिएका थिए । शुक्रबार विहान दुध संकलनका लागि कर्मचारी संस्थामा पुगेपछि चोरी भएको थाहा भएको थियो ।
दुई वर्षअघि पनि सो संस्थामा चोरी भएको थियो । चोरीको घटनाका बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।