चितवन । १३ औं रत्ननगर महोत्सव पौष २५ गतेदेखि माघ ६ गतेसम्म टिकौली चौरमा आयोजना गरिने भएको छ। रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा तथा रत्ननगर नगरपालिकाको संरक्षकत्वमा ‘रत्ननगर महोत्सव हाम्रो पहिचान, कृषि र पर्यटन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित हुने महोत्सवले पूर्वी चितवनको कृषि, पर्यटन, संस्कृति र व्यापारलाई प्रवर्द्धन गर्दै समग्र जिल्लाको आर्थिक गतिविधि सुदृढ बनाउने उद्देश्य लिएको आयोजकले जानकारी दिएको छ।
आज पत्रकार सम्मेलन आयोजनागरि आयोजक समितिका संयोजक तथा संघका अध्यक्ष शंकर गिरीले महोत्सवले करिब चार लाख दर्शक आकर्षित गर्ने तथा २५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको बताए। उनका अनुसार महोत्सवमा उद्योग, व्यापार, कृषि उत्पादन, स्थानीय संस्कृति र पर्यटकीय सामग्री समेटिएका झण्डै ४५० स्टल रहनेछन्।
यस वर्ष महोत्सवमा विशेष आकर्षणका रूपमा ‘दोस्रो चितवन मह उत्सव’ सञ्चालन गरिने छ, जसमार्फत मह उत्पादन, गुणस्तर र बजारीकरणलाई प्रोत्साहन दिइनेछ। साथै स्वदेशमै रोजगारीको अवसर पहिचान गर्न ‘रोजगार मेला २०८२’ पनि आयोजना गरिने बताइएको छ।
महोत्सवको प्रवेशद्वार जनकपुरस्थित रामजानकी मन्दिरको आकृतिमा निर्माण गरिनेछ। साथै थारू, मगर, गुरुङ, दराई, माझी, तामाङ र कुमाल समुदायका परम्परागत संस्कृति घरहरू प्रदर्शन गरिने र ‘रैथाने बालीको संरक्षण र प्रवर्द्धन’ लाई विशेष जोड दिइने आयोजकले जनाएको छ।
बालबालिकाका लागि फनपार्कका साथै पौष २९ देखि माघ ४ सम्म सौराहाचोक बसपार्कमा ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव’ सञ्चालन गरिनेछ। कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य उत्पादन, पोल्ट्री, मह र रैथाने बालीसम्बन्धी प्रदर्शन तथा कार्यशाला कार्यक्रम रहनेछन्। महिलाहरू, फरक क्षमता भएका व्यक्ति र स्थानीय कृषकका उत्पादनका लागि निःशुल्क स्टल उपलब्ध गराइनेछ।
मनोरञ्जनतर्फ राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति तथा विभिन्न आदिवासी जनजातिका भेषभुषा र नृत्य प्रदर्शन समावेश गरिनेछ।
उद्घाटनका दिन बाजा र झाँकीसहित शोभायात्रा निकालिने तथा सुरक्षा व्यवस्थाका लागि अत्याधुनिक सिसिटिभी र पाँच करोड रुपैयाँको बीमा गरिएको आयोजकले जनाएको छ।
प्रवेश शुल्क सर्वसाधारणका लागि ८० रुपैयाँ र विद्यार्थीका लागि ४० रुपैयाँ तोकिएको छ भने ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति र एकल महिलालाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेश दिइनेछ। टिकट काट्ने पाहुनालाई मौलाकालिका केबुलकारमा २० प्रतिशत छुटको व्यवस्था पनि गरिएको छ।
संयोजक गिरीले महोत्सवलाई चितवनको विशिष्ट पहिचान बोकेको पर्वका रूपमा स्थापित गर्दै समृद्ध रत्ननगर निर्माणमा यो एक महत्वपूर्ण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका छन्।










