चितवन । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचारमा पौष २५ गतेबाट सुरु हुने रत्ननगर महोसत्सवको १३औं संस्करणमा जनजाती समुदायको सुन्दर गाउँ निर्माण गरिएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको उक्त महोत्सव परिसरमा विभिन्न नौं वटा जनजातीको परम्परागत घर र उनीहरुले प्रयोग गर्ने सामग्रीहरु राखिएको छ ।
महोत्सव परिसरमा विभिन्न जातजातीको परम्परागत घरहरुलाई सुन्दर र आर्कषक तरिकाले निर्माण गरिएको संस्कृतिक प्रर्वद्धन समितिका संयोजक सन्तोष लामाले बताए । महोत्सव अबलोकन गर्न आउनेले थारू, मगर, गुरुङ, दराई, माझी, तामाङ र कुमाल लगायतका जनजातीको घर हेर्न तथा जनजातीको परम्परागत संस्कृतिको थाहापाउन सक्ने लामाले बताए । महोत्सवको प्रमुख आर्कषणको रुपमा यसपटक नेपाली मौलिक सस्कृतिको जगेर्ना गर्न रामजानकी मन्दिरको झल्को दिने आकर्षक गेट रहेको छ । मन्दिरको आकृती सहितको गेट निर्माण अन्तिम चरणमा पुगेको छ ।
स्थानीय व्यापार व्यबसायको प्रवद्र्धन सङ्गै मौलिक सस्कार सस्कृतिलाई संरक्षण संगै प्रचार प्रसार गर्न रामजानकी मन्दिरको झल्को दिने आकृती निर्माण गरिएको संघका अध्यक्ष शंकर गिरीले बताए । यस पटकको महोत्सवमा मह उत्सव, रोजगारी मेला र जनपरी अबलोकन मुख्य मुख्य आर्कषणको रुपमा रहेको गिरीले बताए । महोत्सव परिसरमाख महको उत्पादन, गुणस्तर र बजारीकरणलाई प्रवद्र्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ ।
युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर पहिचान गर्न आयोजना गरिएको रोजगार मेला २०८२ ले रोजगार खोज्ने युवा र रोजगारदाताबीच सेतुको काम गर्ने गिरीले बताए । कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले बताए । विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवको १३औँ संस्करणको चार लाखभन्दा बढी दर्शक अबलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको खनालले बताए । महोत्सव अन्तर्गत भजन, शंखध्वनी, महिला कबड्डी तथा अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता हुने छ । वालउद्यानमा जनपरीसंगै बालबालिकालाई लक्षित गरी कस्मिर भ्याली निर्माण गरिदैछ । पर्यटन प्रर्वद्धन तर्फ खगरी खोलामा मोटरबोट तथा सामुदायिक वनहरुमा जीप सफारी सञ्चालन गरिने छ ।
महोत्सवमा अल्लो र गाजाको बोटबाट बनेका कपडाका स्टलहरु समेत रहने छन् । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ५०० स्टलहरू रहनेछन । महोत्सवमा उद्योग, व्यापार, कृषि उत्पादन, स्थानीय कला–संस्कृति र पर्यटकीय सामग्रीको प्रदर्शनी तथा ‘बिर्सनु हुन्न बाजेबजैको स्वाद, जोगाऔँ रैथाने संस्कृति र परम्परागत याद’ भन्ने नारा सहित रैथाने बालीको संरक्षण र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने संघका महासचिव उपेन्द्र शर्मा आचार्यले बताए । महोत्सव महोत्वब अन्तर्गत पौष २९ देखि माघ ४ सम्म सौराहाचोक स्थित बसपार्कमा ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव’ आयोजना गरिएको छ ।
टाँडी बजारलाई चलायमान गराउन र स्थानीय खानाका परिकारको प्रर्बद्धनको लागि खाना महोत्सव आयोजना गरिएको संघका पूर्वअध्यक्ष एवम संयोजक ज्ञानबहादुर विसुरालले बताए । कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखेको कृषि प्रर्वद्धन समितिका संयोजक रघुनाथ भट्टले जानकारी दिए ।
रत्ननगरमा आयोजना हुने १३औँ रत्ननगर महोत्सवमा दैनिक रक्तदान कार्यक्रम हुने भएको छ। समग्र चितवनको गौरव र गरिमामय प्रस्तुती रत्ननगर महोत्सव यही पौष २५ गतेदेखि माघ ६ गतेसम्म टिकौली चौरमा हुदैछ ।









