गोरखा । गण्डकी गाउँपालिका–७ नम्बर वडा कार्यालयको आयोजनामा वडा स्तरीय अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम आइतबार श्री प्रजाज्योती आधारभूत विद्यालय र सोमबार श्री ज्ञानमार्ग माध्यमिक विद्यालयमा आयोजना गरिएको थियो।
कार्यक्रममा शिक्षाविद् तथा प्रशिक्षक पूर्णप्रसाद दवाडीले अभिभावक शिक्षासम्बन्धी प्रशिक्षण दिनुभएको थियो। उहाँले अभिभावक र विद्यालयबीचको सहकार्य, विद्यार्थीको सर्वाङ्गीण विकास, शैक्षिक गुणस्तर अभिवृद्धि तथा घर–विद्यालय सम्बन्ध मजबुत बनाउने विषयमा केन्द्रित रहेर प्रशिक्षण दिनुभएको हो।
गण्डकी गाउँपालिकाभित्रका विभिन्न वडामध्ये समयमै वडाभित्रका योजनाहरू सफलतापूर्वक सम्पन्न गर्न सफल भएको आधारमा गण्डकी गाउँपालिका–७ लाई पालिकाले यस वर्षको उत्कृष्ट वडा घोषणा गर्दै पुरस्कृत गरेको थियो। सो पुरस्कारस्वरूप प्राप्त रकमबाट नै वडा स्तरीय अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष तुलसी रेग्मीले जानकारी दिनुभयो। वडा अध्यक्ष रेग्मीले अभिभावक शिक्षा कार्यक्रमले अभिभावकमा शिक्षा प्रतिको चेतना अभिवृद्धि गर्नुका साथै स्थानीय तहको शैक्षिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास वडा कार्यालयले लिएको बताउनुभयो।
त्यसैगरी, कार्यक्रममा वडाभित्र समयमै विभिन्न योजनाहरू सम्पन्न गर्ने उपभोक्ता समिति तथा ठेकेदारहरूलाई सम्मानसमेत गरिएको थियो। वडा अध्यक्ष रेग्मीले विकास निर्माणका कामहरू समयमै सम्पन्न गर्न सहयोग पुर्याउने उपभोक्ता समिति र ठेकेदारको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यको अपेक्षा गरिएको बताउनुभयो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना (साकार), शिक्षा शाखाका कर्मचारी, वडा नम्बर ७ भित्र रहेका पाँचवटा विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य, अभिभावक, शिक्षाविद्, सरोकारवाला तथा शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।वडा अध्यक्ष तुलसी रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव पुष्पा बस्नेतले गर्नुभएको थियो।













