एनपीएल स्टार टीभीबाट पनि प्रसारण हुने, युट्युबमा हेर्न नपाइने

काठमाडौं । यसपटकको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट भारतीय टीभी स्टार र नेपाली दुवै टीभीबाट प्रसारण हुने भएको छ । नेपाल क्रिकेट संघ क्यान स्रोतका अनुसार भारतीय स्टार टेलिभिजनले पनि खेल प्रसारण गर्ने हिजोमात्र टुंगो लागेको छ ।

क्यानले नेपालभित्र एक्सक्लुसिभ अधिकार हुने नेपाली टेलिभिजनहरुबाट प्रसारण अधिकारका लागि टेण्डर आह्वान गरेको भए पनि अब नेपाली टीभीले एक्सक्लुसिभ अधिकार नपाउने भएका हुन् ।

टेण्डर दाखिल गर्ने अन्तिम दिन आज भए पनि त्यसको एक दिन अगाडिमात्रै क्यानले उक्त अधिकार एक्स्क्लुसिभ नहुने टुंगो गरेको छ ।

युट्युबमा हेर्न नपाइने, एपमा हेर्न पैसा तिर्नुपर्ने

यसैगरी क्यानले मोबाइल एपबाट पनि एनपीएलका सबै खेलहरु हेर्न पाइनेगरी प्रसारण अधिकार बिक्री गर्न लागेको छ । ती एपमा दर्शकले पैसा तिरेरमात्र खेल हेर्न पाउने छन् ।
क्यानले गत वर्ष नेपालभित्र युट्युबबाट पनि खेल प्रसारण गरेको थियो । तर, यस वर्ष भने युट्युबमा दर्शकले खेल हेर्न पाउने छैनन् । टीभीको पहुँचमा नहुने देशभित्रका दर्शक र विदेशमा रहेका दर्शकले मोबाइल एपबाटै खेल हेर्नुपर्ने छ ।

क्यानबाट औपचारिक प्रतिक्रिया आउन बाँकी

यो समाचार तयार पार्दासम्म क्यानका पदाधिकारीहरुले भने औपचारिक प्रतिक्रिया दिएका छैनन् । तर क्यानले बोलपत्रदाताहरुलाई भने इमेल पठाएर त्यसको जानकारी दिइसकेको छ ।

क्यानका एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘यस सम्बन्धी प्राविधिक प्रक्रिया पूरा भएपछि मात्रै औपचारिक जानकारी दिइने छ । प्रक्रिया पूरा हुन अझै केही घण्टा छ । आजै साँझ वा भोलि बिहानसम्म कुर्नुस् न ।’

एनपीएल आगामी मंसिर १ गतेदेखि सुरु भएर २७ गते समापन गर्ने तालिका छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको