सप्तगण्डकी बहुमुखी क्याम्पसमा दुई विभागीय प्रमुखसहित  कार्यक्रम प्रमुखहरुको पदस्थापन

चितवन।भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा नयाँ दुई विभागीय प्रमुखसहित दुई कार्यक्रम प्रमुखको शुक्रबार पदस्थापन भएको छ । साउनबाट नियुक्त भएका उनीहरुलाई क्याम्पसले एक कार्यक्रम गरी पदस्थापन गराएको हो ।

नव नियुक्त विभागीय प्रमुखहरुमा मानविकी तथा सामाजिक विज्ञान विभागका प्रमुख रामप्रसाद तिवारी, सूचना प्रविधि विभागका प्रमुख रवि तिवारी छन् भने दुई कार्यक्रम प्रमुखमा बीबीए, बीआईटीएम कार्यक्रम प्रमुख माधव न्यौपाने र बीसीए, बीआईसीटीई का कार्यक्रम प्रमुख नारायण प्रसाद दाहाल रहेका छन् । नयाँ विभागीय प्रमुख तथा कार्यक्रम प्रमुखहरुको पदस्थापन कार्यक्रममा क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखहरु, प्राध्यापक र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

मानविकी तथा सामाजिक विज्ञान विभागका प्रमुख रामप्रसाद तिवारीले विसं २०५१ सालबाट क्याम्पसमा प्राध्यापन सुरु गरेका थिए । पर्वतको फलेबासमा जन्मिएका उनले ग्रामीण विकास र व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका हुन् । सूचना प्रविधि क्षेत्रमा पनि तिवारीले विशेष दख्खल राख्छन् । त्यस्तै, सूचना प्रविधि विभागका प्रमुख रवि तिवारीले विसं २०७५ सालबाट बीसीएका विभिन्न सेमेस्टरमा प्राध्यापन सुरु गरेका थिए । रत्ननगर–१५ माधवपुरमा जन्मिएका उनले भारतको पन्जावमा रहेको लभ्ली प्रोफेसनल विश्वविद्यालयबाट एमसीए र भरतपुरको प्रेसीडेन्सी कलेजबाट एमबीए गरेका हुन् । उनी सूचना प्रवधि कम्पनी ड्रिमटेक नेपालका कार्यकारी निर्देशक हुन् । अर्का बीसीए र बीआईसीटीई कार्यक्रम प्रमुख नारायणप्रसाद दाहालले २०७७ सालबाट सप्तगण्डकी बहुमुखी क्याम्पसमा प्रध्यापन सुरु गरेका हुन् । नवलपरासी पूर्व कावासोतीमा जन्मिएका दाहालले काठमाडौंको लर्ड बुद्ध एकेडेमीबाट सूचना प्रविधिमा एमएस्सी र नेपाल खुला विश्वविद्यालयबाट एमफील गरेका छन् । अहिले उनी भारतको गोरखपुर विश्वविद्यालयबाट कम्प्युटर विज्ञानमा पीएचडी गर्दै छन् ।

त्यसैगरी बीबीए, बीआईटीएम कार्यक्रम प्रमुख माधव न्यौपानेले विसं २०८० बाट सप्तगण्डकी बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा प्राध्यापन सुरु गरेका हुन् । लमजुङको विचौरमा जन्मिएका उनले सप्तगण्डकी क्याम्पसबाटै प्लस टु देखि स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका हुन् । चितवनको ड्रिम्स एफएम र ड्रिम्स दैनिकमा बजार प्रबन्धकबाट आफ्‌नो करियर सुरु गरेका उनीसँग निजी कम्पनी अर्थ मुभर्स प्रालिमा अधिकृतको रुपमा काम गरेको अनुभव छन् । प्राज्ञिक र व्यवसायिक क्षेत्रमा राम्रो अनुभव बनाएका विभागीय प्रमुख र कार्यक्रम प्रमुखबाट क्याम्पसको शैक्षिक गुणस्तर थप वृद्धि गर्न सहयोग पुग्ने क्याम्पसले जनाएको छ । देशकै अग्रणी सामुदायिक क्याम्पसमा सेमेस्टर प्रणालीअन्तर्गत स्नातक तहमा बीबीए, बीसीए, बीआईटीएम जस्ता कार्यक्रम सञ्चालित छन् भने वार्षिक प्रणालीअन्तर्गत बीए, बीएड, बीबीएस, बीएस्सी जस्ता कार्यक्रमहरु सञ्चालित छन् । स्नातकोत्तर तहमा समेस्टर प्रणालीमा एमबीएस, एमएड र एमए कार्यक्रम सञ्चालन रहेको क्याम्पसले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको