गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले दुहुना गाई र भैंसी पाल्ने किसानलाई प्रत्साहनस्वरूप अनुदान दिने निर्णय गरेको छ। गाउँपालिकाको १४१औं कार्यपालिका बैठकले दुहुना भैंसीपालक किसानलाई रु १०,००० र दुहुना गाईपालकलाई रु ५,००० अनुदान दिने निर्णय गरेको हो। गाउँपालिकाको १४१औं कार्यपालिका बैठकले उक्त कार्यबिधि समेत पास गरेको पालिका अध्यक्ष दीपक तिमिल्सिना ‘सकार’ले जानकारी दिए।
स्थानीय किसानलाई पशुपालनतर्फ आकर्षित गर्न र दुधजन्य उत्पादनमा आत्मनिर्भरता बढाउन यो कार्यक्रम ल्याइएको पालिका अध्यक्ष ‘सकार’को भनाइ छ। गण्डकी गाउँपालिकाले यसअघि पनि तरकारी किसानलाई उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। पालिकाले उत्पादन र श्रमलाई प्राथमिकतामा राखेर कृषि क्षेत्रलाई व्यावसायिक बनाउने योजना अघि समेत सारेको जनाएको छ।
पालिकाले दुहुना गाई र भैंसी पाल्ने किसानलाई प्रत्साहनस्वरूप नगद अनुदान दिने निर्णयपछि पशुपालक किसानले खुशी व्यक्त गरेका छन्। पालिकाका अध्यक्ष ‘सकार’ भन्छन्, “हामीले कृषि र पशुपालनलाई गाउँको मेरुदण्डको रूपमा लिएका छौं। किसान बिना गाउँको विकास अपूरो हुन्छ। यो अनुदान उत्पादनमुखी बनाउने यात्रातर्फ प्रयास हो।” उनले थपे, “गाई–भैसीको दूध बेचेर आत्मनिर्भर हुने सपना देखिरहेका किसानलाई हामीले साथ दिनेछौं। कृषकको श्रमको सम्मान गर्दै हामी त्यसलाई पालिकाको विकाससँग जोड्न चाहन्छौं।”









