चितवन । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन गरिएको ‘नयाँ मौरी पकेट विकास कार्यक्रम’ अन्तर्गत चितवनको कालिका नगरपालिकामा मौरी पालनसम्बन्धी सामग्री वितरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
कालिका नगरपालिका–६ स्थित रेडक्रसग्राममा सम्पन्न उक्त कार्यक्रममा मौरीको घार, चिनी र बाल्टी लगायतका सामग्रीहरू वितरण गरिएका थिए। कार्यक्रम कालिका व्यवसायिक मौरी कृषक समूहको आयोजनामा गरिएको हो।
कार्यक्रममा कालिका नगरपालिका र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले समानरूपमा १२/१२ लाख रुपैयाँ आर्थिक सहयोग उपकरण खरिद गरि वितरण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका मेयर विनोद रेग्मी र उपमेयर विमला तामाङले सामग्रीहरू हस्तान्तरण गरेका थिए।
कार्यक्रममा नगर कार्यपालिका, स्थानीय किसान, प्राविधिकहरू तथा सरोकारवाला निकायको उपस्थिति रहेको थियो। सार्वजनिक सुनुवाइको क्रममा किसानहरूले मौरीपालनमा देखिएका चुनौतीहरूबारे धारणा राख्दै बजार पहुँच, तालिम र निरन्तर प्राविधिक सहयोगको माग गरेका थिए।
उक्त कार्यक्रमबाट स्थानीय मौरीपालकहरूमा नयाँ उत्साह थपिएको र मौरीपालन व्यवसायको व्यावसायिक विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।









