भारतीय केराले नेपाली किसान मारमा, आयात नरोके केरा र सवारी साधन नियन्त्रणमा लिने केरा संघको चेतावनी !

शिशिर सिंखडा, चितवन ।  भारतीय केराले नेपाली केरा किसान मारमा परेको भन्दै चितवनका केरा किसानहरुले भारतीय केरा नेपाल आयात गर्न रोक लगाउन संबन्धित निकायलाई अनुरोध गरेका छन ।

कोरोना कहरका कारण चितवन सहित विभिन्न जिल्लाका किसानहरुले उत्पादन गरेको केराहरु खेतमै तयारी अवस्थामा रहेकोमा भारतबाट बैध तथा अबैध रूपमा केराहरु भित्रनु दुःखद रहेको चितवन केरा उत्पादक संघले एक बिज्ञप्ति मार्फत जनाएको छ ।

देशका ठूला बजारहरुमा रहेका थोक केरा व्यापारी, खुद्रा व्यापारी र मण्डीका केहि ठुलो फलफूल ब्यापारी मिलेर बजारलाई नियन्त्रणमा लिएको सो बिज्ञप्तिमा जनाईएको छ ।  चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा जारी बिज्ञप्तिमा नेपाली किसानको उत्पादनलाई कम भन्दा कम दरमा केरा खरिद गरि किसानलाई मार्ने काम भएको भन्दै भारतीय केरा तत्काल रोक्न माग गरिएको छ । भारतबाट वैध, अवैध रुपमा भारतिय केरा नेपालमा आयात भइरहेकाले नेपाली बजारमा नेपाली किसानकै केराले प्रतिस्पधा गर्ने नसक्ने अबस्था आउनु दुःखद भएको बताईएको छ ।

नेपाली केरा किसानहरु भारतिय आयातित केराको कारण विस्थापित हुने अवस्था समेत  देखिएको भन्दै अविलम्ब भारतिय केरा नेपालको चेक पोष्टमा बिषादी र पेष्टिसाईड कडाईका साथ चेकजाँच गर्नु पर्ने, आयात हुने केराको भन्सार दर रेट वृद्धि गरि अंकुश लगाउनुका साथै नेपाली केराको उत्पादन वृद्धि र नेपालमा उत्पादन भएका केराको बजार व्यवस्थापन गर्न पनि  बिज्ञप्ति मार्फत सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।

नेपाली केराको उचित मूल्य निर्धारण गरि उचित मूल्य दिलाउन, किसानहरुको आर्थिक अवस्था सवल बनाउन भारतिय केरा आयातमा तत्काल रोक लगाउनुको विकल्प नभएको बताईएको छ । साथै किसानको समस्या समाधान अबिलम्ब समाधान नभएको खण्डमा बाध्य भएर भारतबाट आयातित हुने केरा बोकेको भारतिय केरा गाडीलाई नियन्त्रणमा लिन तथा सम्पुर्ण केरा किसानहरु आन्दोलन गर्न बाध्य हुने समेत अध्यक्ष माधवप्रसाद घिमीरेद्वारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ ।

व्यवसायिक केरा खेतीको लागि अब्बल जिल्लाको रूपमा परिचित चितवनमा हाल ७ सय १२ जना व्यवसायिक किसानहरुले केरा खेती गर्दै आएका छन । जिल्लामा ३ हजार ५० बिगाहा क्षेत्रफलमा केरा खेती हुँदै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको