गिता पंगेनी, चितवन । ६४औँ इन्जिनियर दिवसको अवसरमा पूर्वी चितवनका पेसागत रूपमा क्रियाशील इन्जिनियरहरूले रत्ननगर नगरपालिका–१३ स्थित राष्ट्रिय आधारभूत विद्यालय, अमिलियामा सञ्चालित अटिजम स्रोत कक्षालाई कुर्सी र टेबल लगायत सामग्री हस्तान्तरण गरेका छन्।
आइतबार आयोजित कार्यक्रममा स्रोत कक्षाका विद्यार्थीहरूको अध्ययनलाई सहज बनाउन कुर्सी र टेबल प्रदान गरिएको हो।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै इन्जिनियर रोशन काप्रीले विशेष क्षमता भएका विद्यार्थीहरूको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले फर्निचर उपलब्ध गराइएको बताउँदै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा इन्जिनियर अनिस बराल, शिक्षक अभिभावक संघका अध्यक्ष युवराज खतिवडालगायतले विशेष आवश्यकता भएका बालबालिकाको शिक्षामा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरहरि पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय परिवार, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।









