रत्ननगरको अटिजम स्रोत कक्षाको अवलोकन गर्दै शिक्षामन्त्री: समावेशी शिक्षामा सरकारको जोड

गिता पंगेनी, चितवन ।  शिक्षामन्त्री  सस्मित पोखरेलले नेपालभर रहेका २७ हजार सामुदायिक विद्यालयलाई क्रमशः समावेशी विद्यालयका रूपमा विकास गरिने बताएका छन्।

शुक्रबार रत्ननगर नगरपालिका–१३ स्थित राष्ट्रिय आधारभूत विद्यालयमा सञ्चालित अटिजम स्रोत कक्षाको अवलोकन गर्दै मन्त्री पोखरेलले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा अटिजम विद्यालय सञ्चालनका लागि बजेट विनियोजन भइसकेको जानकारी दिए।

हाल उक्त विद्यालयको अटिजम स्रोत कक्षामा रत्ननगर, कालिका, खैरहनी नगरपालिका तथा भरतपुर महानगरपालिकाका गरी ३० जना विद्यार्थी अध्ययनरत छन्। स्रोत कक्षाका लागि रत्ननगर नगरपालिकाले चार जना शिक्षिका उपलब्ध गराएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरहरि पुरीले निःशुल्क रूपमा सञ्चालित यो विद्यालय नेपालकै पहिलो समावेशी विद्यालय भएको दाबी गर्दै स्रोत कक्षा सञ्चालनका क्रममा भोग्नुपरेका समस्या तथा आवश्यकताबारे ध्यानाकर्षण पत्र मन्त्री पोखरेललाई हस्तान्तरण गरेका थिए।

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री पोखरेलले विशेष कक्षा सञ्चालन गरेर विद्यालयले उदाहरणीय कार्य गरेको उल्लेख गर्दै आगामी दिनमा यस्तो क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
अवलोकन कार्यक्रममा प्रतिनिधिसभा सदस्य हरी ढकाल, प्रभा ढकाल तथा स्थानीय जनप्रतिनिधि, विद्यालयका पदाधिकारी र सरोकारवालाको उपस्थिति रहेको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको