पशुपतिनाथमा विशेष पूजा: भक्तजनको भीड बढदो

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा ११ महिनापछि शुरु भएको विशेष पूजामा भक्तजनको आकर्षण बढ्न थालेको छ । गत वर्ष चैतदेखि रोकिएको विशेष पूजा यस वर्ष महाशिवरात्रिको दुई दिनअघि गत फागुन २५ गतेदेखि मात्र शुरु भएको थियो । विशेष पूजा शुरु भएपछि सोमबार र शनिबार भक्तजनको भीड बढ्न थालेको छ । कोरोना जोखिमका कारण भारतीय भक्तजन नआए पनि नेपाली दर्शनार्थीले नै विशेष पूजा गराउन क्रम बढ्न थालेको हो ।

महाशिवरात्रिका दिनमात्र पशुपतिनाथ मन्दिरमा रु ३१ लाख १२ हजार ३०० को विशेष पूजा भएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो । महाशिवरात्रिका दिन रु पाँच हजार १०० र रु ११ हजार गरी दुई किसिमका रसिद काटी विशेष पूजा गरिएको थियो । रु पाँच हजार १०० को विशेष पूजा ३७५ र रु ११ हजारको विशेष पूजा ११० जना भक्तजनले गरेको उहाँले सुनाउनुभयो । रु पाँच हजार १०० को पूजा गर्ने दुईजना कर्ता र रु ११ हजारको पूजा गर्ने चारजना कर्तालाई महाशिवरात्रिका दिन पशुपतिनाथ मूल मन्दिरमा दर्शन गर्ने व्यवस्था गरिएको थियो ।

पछिल्लो समय रु एक हजार १०० देखि रु २७ हजारसम्मको विशेष पूजा रसिद काटेर गर्न थालिएको छ । पशुपतिनाथ मन्दिरमा रु एक हजार १०० देखि रु २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ ।

कोषले महाशिवरात्रिका अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गरेको हो । कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि छ । विशेष पूजाबाट कोषलाई वार्षिक रु नौदेखि रु १० करोडसम्म आम्दानी हुने गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा विशेष पूजाबाट रु नौ करोड ४० लाख ९३ हजार १४५ आम्दानी भएको थियो । गत वर्ष चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो । कोरोनाका कारण करीब नौ महिना मन्दिरसमेत बन्द भई विशेष पूजा रोकिँदा पनि रु छ करोड एक लाख ८९ हजार ४७५ आय भएको कोषाध्यक्ष थापाले बताउनुभयो ।

कोरोना जोखिमका कारण यस वर्ष महाशिवरात्रिमा पनि पशुपतिनाथ मन्दिरमा कम भक्तजन आएका छन् जसका कारण पशुपतिको महाशिवरात्रिका दिनको आयमा प्रभाव परेको कोषले जनाएको छ । गत वर्ष महाशिवरात्रिका दिन रु १० लाखभन्दा बढी भेटी उठेको थियो । यस वर्ष भने रु छ लाखको हाराहारीमा मात्र जम्मा भएको जनाइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको