
पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सिमसार क्षेत्र जीवन प्रणालीको एक महत्त्वपूर्ण अङ्ग रहेको बताउनुभएको छ ।
“सिमसार र पानी” भन्ने मूल नाराका साथ विश्व सिमसार दिवसको अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश र डब्लु. डब्लु. एफ. ले माछापुच्छ्रे पार्कमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सिमसार क्षेत्र हरेक प्राणीहरूको जीवन पद्धति सँग जोडिएको बताउनुभयो । पृथ्वीमा जीव तथा जीवनको अस्तित्वका लागि सिमसारले अतुलनीय योगदान गर्दै आइरहेको उहाँको भनाई छ ।
सिमसार अत्यन्त उत्पादनशील पारिस्थितिक प्रणाली भएको चर्चा गर्दै उहाँले सिमसार क्षेत्रको संरक्षण र प्रवर्द्धनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री गुरुङले उच्च हिमालयको पानीका मूलबाट बनेका वा केही अंश रहेका नेपालका सिमसार क्षेत्रको विशेषता पृथक् रहेको चर्चा समेत गर्नुभयो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पानी तथा सिमसार क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकारले तदारुकताका साथ काम गरेको बताउनुभयो । सिमसार क्षेत्र तथा तालहरूको संरक्षण तथा विकास गर्न प्रदेश सरकारले ताल संरक्षण तथा विकास प्राधिकरण गठन गरी काम गरेको बताउँदै मन्त्री लम्सालले सिमसारले सामाजिक तथा आर्थिक विकासमा टेवा पु¥याउने बताउनुभयो ।
सिमसारले वार्षिक ४७ ट्रिलियन अमेरिकी डलर बराबरको सेवा प्रदान गरेको तथा १ अर्ब भन्दा बढी मानिसहरू आम्दानीको स्रोत रहेको भन्दै सिमसारको संरक्षण तथा विकास गर्न प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।
सिमसार क्षेत्रले मानव जीवनको लागि आवश्यक पर्ने आधारभूत आवश्यकताका अतिरिक्त मानव सभ्यता र संस्कृतिको जगेर्ना समेत गर्ने भएकोले यसको संरक्षण गर्नु मानव दायित्व भएको बताउनुभयो ।