
चितवन । विगत ४२ वर्षदेखि स्वास्थ्य क्षेत्रका अनुभवी डाक्टर हुन्, महेन्द्रराज न्यौपाने । पछिल्लो दुई दशक यता मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत छन् । बंगलादेशबाट एमबीबीएस, इण्डियाको निम्हाल्सबाट साइकियाट्रीमा डिपिएम र भारतबाटै अल्कोहल एण्ड ड्रग यवुजमा पिजिटि गरेका उनले सुरुमा वीर हस्पिटलमा मेडिकल अफिसरको रुपमा सेवा सुरु गरेका हुन् । त्यसपछि स्याङ्जा अस्पताल, लमजुङ अस्पताल, त्रिशुली अस्पतालमा काम गरेर दुई वर्ष साइकियाट्री अध्ययनका लागि गएका थिए । तत्पश्चात् आएर लगनखेलको मेन्टल हस्पिटलमा काम गरे, वरिष्ठ नसा तथा मनोरोग (मानसिक रोग) विशेषज्ञका रुपमा भरतपुर अस्पतालमा १६ वर्ष काम गरेर रिडायर्ड भएको अहिले तीन वर्ष भयो । अहिले भरतपुरको हेल्प नेपाल मानसिक अस्पताल र सगरमाथा मेडिकल हलमा सेवारत छन् ।
१) मनोरोग भनेको कस्तो किसिमको रोग हो ?
– जसरी शरीरका विभिन्न अड्डहरु जस्तै कलेजो, मृगौला, फियो, आन्द्रा अथवा पेटमा गडबडी भएर शारीरिक रोगहरु देखा पर्दछ । त्यस्तै मन र मस्तिष्कमा जब गडबडी हुन्छ, तब मानसिक रोग देखा पर्दछ । मान्छेले आफ्नो मनलाई थाम्न सकेन भनेपनि मनोरोग हुन जान्छ । मस्तिष्कमा गडबडी भयो भने मानिसको सोचाइ, आभास, व्यवहार, बोलीचाली, खानपिन, निद्रा इत्यादि बिग्रन सक्छ, त्यस्तो भयो भने हामी त्यसलाई मानसिक रोग भन्दछौं । मस्तिष्कमा धेरै किसिमका रसायन हुन्छन्, ती रसायन घट्न पनि हुँदैन, बढ्न पनि हुँदैन, ब्यालेन्समा बस्नुपर्छ, त्यसो भएन भने मानसिक समस्या देखिन थाल्छ । कोही मान्छेलाई साह्रै चिन्ता अथवा तनाव धेरै भयो भने मनलाई सन्तुलनमा राख्न सक्दैन, जसले गर्दा मस्तिष्कका रसायनहरु खल्बलिन सक्छ । वंशमा कसैलाई मानिसक रोग छ भनेपनि अर्काेमा जान सक्छ । लागुपदार्थ, मादकपदार्थको दुव्र्यसनले पनि मस्तिष्कमा गडबडी भएर मानसिक रोग उत्पन्न हुन जान्छ ।
२) यो रोग कति प्रकारका हुन्छन् ?
– मुख्य गरी दुई प्रकारको हुन्छ । तर यसका शाखाहरु त धेरै छन्, झण्डै ३०० जति । तर यसको भागचाहिँ मुख्य दुई किसिमको हुन्छ । एउटा कडाखाले, अर्काे सामान्यखाले । कडाखाले भन्नाले वास्तविक संसारबाट सम्बन्ध टुटेको हुन्छ, यो थोरै मानिसलाई हुन्छ । तर सामान्यचाहिँ विनाकारण छटपटी हुने, टाउको दुख्ने, मुटु ढुकढुक हुने, डर लाग्ने, झ्यालढोका लगाएको बन्द कोठामा डराउने, एउटै कुरा बारम्बार मनमा आइरहने, एउटै कुरा बारम्बार गरिरहने जस्तै बारम्बार हात धोइरहने, एउटै कुरालाई बारम्बार चेकिङ गर्ने, हिस्टोरिया इत्यादिचाहिँ सामान्यखाले हो र यस्तो धेरै मान्छेलाई हुन्छ । सामान्य र कडाखाले दुवैलाई निको पार्न सकिन्छ । कडा खालेलाई चाहिँ लामो समय औषधि खानुपर्ने हुन सक्छ भने सामान्यलाई केही महिना, केही वर्ष औषधि खाएपछि निको हुन्छ ।
३) मनोरोगका लक्षण के–कस्ता हुन्छन् ?
– लक्षणहरु कडाखालको बेग्लै, सामान्य खालको बेग्लै हुन्छन् । कडा खालकोमा सिजोफ्रेनिया प्यारानोवाइड टाइपको छ भनेदेखि दुईजना मान्छे कुरा गरिरहेका छन् भने उसले आफ्नै कुरा काट्यो भन्छ । उसले सप्पै मेरो विरुद्धमा छन् भन्ठान्छ । खानेकुरामा कसैले विष हालिदियो कि भन्छ । आफ्नो श्रीमान् वा श्रीमती अरुसँग लाग्यो कि भन्ने शंकालु सोचाइ हुन्छ । त्यस्तै मेनिया छ भनेदेखि नचाहिने किसिमको धेरै खुशी हुन्छ अथवा म आफू ठूलो मान्छे हुँ, म जे पनि गर्न सक्छु भन्छ । पैसा धेरै खर्च गर्न कोसिस गर्छ, कपडा पनि राम्रो राम्रो लाएर हिँड्छ, गाडी पनि स्पिडमा चलाउँछ । डिप्रेसन छ भनेचाहिँ यसको ठिक उल्टो हुन्छ । डिप्रेसन कडा खालको पनि हुन्छ, सामान्य खालको पनि हुन्छ । मेनिया र डिप्रेसन दुईवटै हुनसक्छ एउटा व्यक्तिलाई, त्यतिबेला कडा खाले हुन्छ । माईल्ड र मोडरेट चाहिँ सामान्य खालको भयो तर सिबियरमा पुग्यो भनेचाहिँ डिप्रेसन पनि कडा खालको हुन्छ । मानसिक रोगमा छारेरोग पनि पर्छ ।
४) नेपालमा मानसिक रोगको अवस्था के छ, प्रायःमा कस्तो समस्या देखिएको छ ?
– दिनप्रतिदिन बढ्दो छ । महिलाहरुमा डिप्रेसन, एन्जाइटी बढी छ भने पुरुषहरुमा सिजोफ्रेनिया, मेनिया बढी छ । लागुऔषध खानेमा पनि केटा मान्छे नै बढी छन् । कुल जनसङ्ख्याको झण्डै ३० प्रतिशतमा मानसिक रोग भएको पाइन्छ ।
५) समयमै डाक्टरलाई देखाएर नियमित औषधि सेवन गर्नाले मनोरोगबाट पूर्णरुपमा पार पाउन सकिन्छ त ?
– पूर्ण रुपमा नभएपनि ८०÷९० प्रतिशतचाहिँ पार पाउन सकिन्छ । यो अवस्था हेरेर हुन्छ । कडा खालेमा अलि लामो समय औषधि खानुपर्ने हुन सक्छ । कडा खाले पनि कुनै कुनै त पुरै निको हुन्छ । सामान्य खालको त निको भइहाल्छ । तैपनि शतप्रतिशत चैं नभनौं, शारीरिक रोग होस् या मानसिक रोग जुन पनि ८० देखि ९० प्रतिशत त निको हुन्छ भन्न सकिन्छ नि ।
६) सामान्य मनोरोग कति समय जति औषधि खाएर निको हुन्छ ?
– कति समयदेखि रोगले सतायो, त्यो हेरेर हुन्छ । लामो समयदेखि सताएको हो भने लामै समय औषधि खानुपर्ने हुनसक्छ । थोरै समय छ भने पनि निको भएको ६ महिनादेखि एक वर्षसम्म औषधि खानुपर्छ । भनौं न, सामान्य मनोरोगीले लगभग डेढ–दुई वर्ष जति औषधि खानुपर्ने हुन्छ ।
७) निको भएपछि बल्झिने सम्भावना कत्तिको हुन्छ ?
– बल्झिने सम्भावना कतिबेला हुन्छ भने डाक्टरले बोलाएको बेलामा नजाने, डाक्टरले भनेअनुसार औषधि नखाने, खानेकुराहरु नबार्ने तथा लागुपदार्थ, मादकपदार्थ सेवन गर्ने, निद्रा बिगार्ने हो भने बल्झिन सक्छ । र, तनाव बढी लियो भनेपनि बल्झिने सम्भावना हुन्छ ।
८) साइकियाट्रिकको औषधिको लत बस्छ र जीवनभर औषधि खानुपर्ने हुनसक्छ भन्ने समाजमा एकखाले सोचाइ वा बुझाइ छ मानिसहरुको, वास्तविकता के हो ?
– त्यस्तो लत त बस्दैन, यो गलत बुझाइ हो । बेन्जोडाईजेपाम भन्ने औषधिहरु हुन्छ, त्यसकोचाहिँ लत बस्छ तर हामी त्यो धेरै दिन दिँदैनौं, एक–दुई हप्ता दिन्छौं, त्यसपछि बन्द गरिदिन्छौं । त्यो औषधि आफैं खायो भने लत बस्छ । अरु कुनै औषधिले लत बस्दैन । यस्तो दबाइ पनि आएको छ अहिले कि निद्रा लागेन भने खाने, निद्रा लागिसकेपछि नखाएपनि हुने ।
९) मनोरोगबाट बच्न तथा यसको रोकथामका लागि के गर्नुपर्ला ?
– सबैभन्दा पहिले त मनोरोग भनेको के हो त्यो बुझ्नुप¥यो । यसबारे मानिसहरुमा सचेतना जगाउनु आवश्यक छ । स्कूल, कलेज, पुलिस, आर्मी लगायत सबैखाले समाजमा यस सम्बन्धी जनचेतना बढायो भने मानिसहरुलाई मानसिक रोग पनि हुन्छ भन्ने थाहा हुन्छ । प्रायःले के गर्छन् भने यो रोग लुकाएर राख्छन् । सामाजिक अन्धविश्वासले गर्दा भूतप्रेत, बोक्सी लागेको भनेर बरु धामीझाँक्री कहाँ जान्छन्, अस्पताल आउँदैनन् । शारीरिक रोग जस्तै मानसिक रोगको पनि शंका हुनासाथ स्वास्थ्य संस्थामा जानुप¥यो । सरकारले तल्लोस्तरका स्वास्थ्यकर्मीहरुलाई मानसिक रोग सम्बन्धी तालिम दियो भने हेल्थपोष्ट, प्राथमिक स्वास्थ्यचौकीहरुमा पनि मानिसहरुले मानसिक रोगको उपचार पाउन सक्छन् । रोग बढेर धेरै पुरानो हुन पाउँदैन । सामान्य मनोरोगको पनि समयमै उपचार भएन भने कडा खालको हुन सक्छ । त्यसैले सरकारले अग्रता लिएर हेल्थपोष्ट, प्राथमिक स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई यस सम्बन्धी तालिम दिने र विद्यार्थीहरुको पाठ्यक्रममा पनि राखिदियो भने राम्रो हुन्छ ।
१०) डिप्रेसनका बिरामीको मुड तल माथि भइरहन्छ नि, किन त्यस्तो भएको ?
– डिप्रेसनको मात्र होइन, मानसिक रोगका बिरामीहरुको मुड तल–माथि हुने गर्छ । बायोपोलार एफेक्टिभ डिसअर्डर भन्ने मान्छेको एउटा मुड हो, त्यो मुडचाहिँ कहिले अप हुन्छ, कहिले डाउन हुन्छ, त्यो एउटा रोगको लक्षण हो । मेनिया छ भने उसको मुड एकदम बढेको हुन्छ । डिप्रेसनमा नचाहिने किसिमले घटेको हुन्छ । मस्तिष्कको न्युरो केमिकलको ब्यालेन्स नमिल्दा कहिले मुड अप हुने कहिले डाउन हुने भएको हो । घर परिवारका मान्छेको सहयोग र मायाममताले बिरामीको मुड राम्रो बन्न सघाउँछ । औषधिले पनि ब्यालेन्स मिलाउँदै लगेपछि त्यो सामान्य अवस्थामा आउँछ ।
११) मानसिक रोग लागिसकेपछि औषधि खाएपनि पहिले जस्तो राम्ररी काम गर्न सक्दैनन् वा काम गर्ने क्षमतामा ह्रास आउँछ हो ?
– एकदम थोरै मात्रामा त्यो हो । तर धेरै प्रतिशतमा हेर्ने हो भनेदेखि मानसिक रोगीहरुले औषधि खाएर पहिलेजस्तै नै काम गर्न सक्छन् ।
१२) मनोरोग निको पार्नका लागि औषधिकासाथै मोटिभेसन र आफ्नो जीवनशैलीको पनि महत्वपूर्ण भूमिका हुन्छ भनिन्छ, के–कस्ता कुराहरु बिरामीले अपनाउँदा राम्रो हुन्छ ?
– पहिलो त औषधि डाक्टरले भनेअनुसार नियमित खाने, डाक्टरले बोलाएको बेलामा जाने गर्नुप¥यो । दोस्रो कुरा घरको मान्छेले यो मानसिक बिरामी हो भनेर अर्कै किसिमले नहेर्ने, अरुलाई जस्तै सामान्य व्यवहार गर्ने, बरु ऊप्रति अझ बढी सहानुभूति देखाउने गर्नुपर्छ । घरपरिवार र समाजले ऊप्रति प्रेरणादायी व्यवहार गर्नुपर्छ । मनोरोगका बिरामीले त्यससम्बन्धी लेख तथा पुस्तकहरु पढ्दा पनि रोकथाममा मद्दत पुग्छ । बेलुका चाँडै सुत्ने, बिहान चाँडै उठ्ने गर्नुपर्छ । दैनिक व्यायाम गर्ने र खेलकुदमा भाग लिने गर्दा पनि राम्रो हुन्छ । –प्रस्तुति अजय गोर्खाली